काठमाडौँ । मन्त्रालय भागबन्डाको टुङ्गो लगाउन आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठकको समय टुङ्गो भने लागिसकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निवासमा पुगेर भेटी गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। नेपालले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।
यसैबिच आ–आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुङ्गो लगाउने प्रयासमा सत्ता गठबन्धनका दल आन्तरिक छलफलमा व्यस्त छन् । बुधवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अनुसार दलहरू आन्तरिक छलफलमा व्यस्त भएका हुन्।
सोमबार नेपाली काँग्रेससहितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले नेकपा एमाले र रास्वपासहितको गठबन्धन बनाएपछि दलहरू आफ्नो भागमा महत्त्वपूर्ण मन्त्रालय पार्ने रस्साकस्सीमा लागेका छन्।
यसअघि एमाले, माओवादी र रास्वपाका एक-एक जना मन्त्री बनिसकेका छन्, तर उनीहरू मन्त्रालयविहीन छन्।
.gif)