महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ७८ वर्षीय वृद्ध नन्दसिंह चाट परम्परागत ‘रुपाली होली’ खेल्दैगर्दा भेटिए । लौरीको सहारामा रुपाली होलीमा पाइला मिलाइरहेका चाटले हरेक वर्ष फागुपूर्णिमाका अवसरमा रुपालीबासीले विशेष महत्वका साथ होली मनाउँदै आएको बताए ।
“लौरीको सहाराले भए पनि हरेक घर दिनभरी होलीमा व्यस्त हुन्छु।”, उनले भने, “रुपाली मौलिक कला संस्कृति बोकेको महत्वपूर्ण होली हो ।” रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको एउटा गाविसको नाम हो । सो गाविसमा बसोबास गर्ने नागरिकलाई रुपालवासी भनिन्छ । त्यही रुपालको साइनो भीमदत्तनगरमा छरिएर रहेका रुबालीबीचको एकता र रङ्गिन पर्वसित जोडिएको छ ।
डडेल्धुराको रुपालबाट कञ्चनपुर बसाइँ सरेका रुपालबासी समिति बनाएरै परम्परागत रुपाली होली मनाइरहेका छन् । रुपाली होली समितिका अध्यक्ष एवं बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले रुपालीहरु फाल्गुण शुल्क एकादशीदेखि फागुपूर्णिमासम्म होली मनाउने गरेको बताए । आफ्नो पुरानो संस्कृति जर्गेनाका लागि यहाँ परम्परागत शैलीमा होली खेल्दै आइएको भट्टको भनाइ छ । परम्परागत शैलीमा खेलिने होली रुवाली समुदायका हरेक उमेर समूहका मानिसक गोलबद्ध भएर खेल्ने गर्दछन् । यो परम्परागत होली उनीहरुले साढे चार दशकदेखि मनाइरहेका छन् ।
रुपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा गाएर होली मनाइन्छ । भीमदत्तनगरको प्रसिद्ध बैजनाथ मन्दिरबाट एकादशीमा सुरु हुने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ । जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेकाहरु रुपाली होली पर्वमा जमघट हुन्छन् ।
“होली खेलेर सङ्कलन भएको रकम विभिन्न विकास निर्माणमा खर्च गछौँ”, उनले भने, “होलीमा गीतका माध्यमबाट विभिन्न धार्मिक भजन गाउने प्रचलन पनि छ ।” जसको घरमा बिहे र सन्तान भएको छ उसले फगुवालाई होलीको अवसरमा विशेष भोजनसमेत गराउने चलन छ ।
“आज महेन्द्रनगरस्थित स्मारकमा सबै जम्मा भएर सामूहिक रुपमा होली खेल्ने तयारी छ”, अध्यक्ष भट्टले भने, “तराईमा जन्मिएका रुपाली समुदायका युवा पिँढीलाई पनि यो परम्परागत होलीमा घुलमिल गराउन प्रयासरत छौंँ ।”
.gif)