आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि...


पश्चिम प्रेस
आइतबार, वैशाख २३ २०८१
  • 3.7K
    Shares

  • images
    images
    कञ्चनपुरमा घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि...

    महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

    रु छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए। उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए। 

    उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । “चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ”, भट्टले गुनासो गरे। 

    लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुननसकेको उनले बताए। 

    टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युत्को महसुल रु तीन लाख पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युतलाइनसमेत काटिदिएको छ । 


  • सम्बन्धित विषय:

  • # घरको छतमा टावर
  • प्रतिक्रिया दिनुहोस