आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

धनगढीमा तारमा अल्झिएर घाइते भएकी पन्तको निधन


पश्चिम प्रेस
बुधबार, वैशाख २६ २०८१
  • 504
    Shares

  • images
    images
    धनगढीमा तारमा अल्झिएर घाइते भएकी पन्तको निधन
    धनगढी । धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ । 
     
    मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्झिएको टेलिफोनको तार विपरीत दिशाबाट आइरहेको ट्रकमा बेरिएपछि ट्रकसँगै झण्डै तीन सय मिटरको दूरीसम्म घिसारिएर ७० वर्षीया वृद्धा पन्त घाइते भएकी थिइन् । महेन्द्रनगर नगरपालिकाको भासी टोल निवासी पन्तको शव मङ्गलवार कञ्चनपुरस्थित महाकाली नदीको घाटमा अन्त्येष्टि गरिएको मृतकका भाई क्याप्टेन बेद उप्रेतीले जानकारी दिए।
     
    घाइते वृद्धाको धनगढीस्थित माया मेट्रो अस्पतालमा ६८ दिनदेखि उपचार भइरहेको थियो । उनको सोमबार निधन भएको हो । गत फागुन १६ गते भएको यो घटनापछि पीडित परिवारबाट क्षतिपूर्ति र उपचारको माग गर्दै नेपाल टेलिकम, धनगढी उपमहानगरपालिका, ट्रक धनी विरुद्ध मुद्दा दर्ता गरिएको थियो । 
     
    धनगढीको मुख्य बजार क्षेत्रमा हाल सडकको स्तरोन्नतिको काम भइरहँदा सडक छेउको टेलिफोनको खम्बा र तार स्थानान्तरण गर्ने क्रममा पुराना तार सडकमा जताततै छरपष्ट गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस