कैलाली । कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ ।
घोडाघोडी नगरपालिका–४ भालुफाटास्थित नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार बिहान २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो ।
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले सुधारगृह सञ्चालक, सञ्चालक समितिका अध्यक्ष र सुधार केन्द्रमा राखिएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। नियन्त्रणमा लिएकाहरूसँग घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिएकी छिन्।
प्रहरीका अनुसार सुधार केन्द्रका सञ्चालक बल खत्री, सञ्चालक समितिका अध्यक्ष होम तामाङ तथा सुधार केन्द्रमा राखिएका १५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार मृतक शाहीको कम्मर, दुवै हात, निधार र घाँटीमा घाउ र चोटपटक देखिएको छ। सुधार केन्द्रले भने भाग्नका लागि एकतले भवनको छतबाट राति हाम फालेपछि शाहीको मृत्यु भएको दाबी गरेको प्रहरीले जनाएको छ। घाइते शाहीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
.gif)