आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

बाघको आक्रमणबाट अस्ताइन् हिरा, दुधे बालकको विचल्ली


पश्चिम प्रेस
शुक्रबार, साउन १८ २०८१
  • 994
    Shares

  • images
    images
    बाघको आक्रमणबाट अस्ताइन् हिरा, दुधे बालकको विचल्ली

    महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काट्न गएको बेला पछाडीबाट बाघले झम्टियो । केही बोल्न नपाउदै बाघले घसारेर ५० मिटर भित्र उखुबारीमा लग्यो । 

    बाघले हिराको कपाल लुछेर क्षतबिक्षत बनाएको थियो । कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई वर्षे दुधे बालक आमा खोजेर रोइरहेका छन्।परिवार उनलाई आमाको दुःखान्त बताउने अवस्थामा छैन।

    जेठानी मीनाले अबोध बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास गरिरहेकी छन्।  हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन्। पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन्।

    बाघको आक्रमणबाट मान्छे मृत्युको घटनाले दोधारा चाँदनी शोकमा मात्रै डुबेको छैन, त्रासमा पनि छ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज (शुक्रवार) बिहान दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको छ। 

    शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन सफल भएको छ ।   “बाघ नियन्त्रणमा लिइसकेका छौं विभागको पत्र आएको छ त्यस अनुसार बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने –“बिहिबार बाघ नियन्त्रणमा आउन नसकेपछि बिहिबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले पहरा दिएका हुन ।” उनले शुक्रबार बिहान मात्रै बाघ नियन्त्रणमा आउन सकेको बताए । 

    बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन भएको थियो । शुक्रबार थप १ हात्ती प्रयोग गरेर ५ हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा आएको हो । उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज पठाउने तयारी भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण
  • प्रतिक्रिया दिनुहोस