आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

१२ गतेसम्म धानबाली नकाट्न कञ्चनपुरका किसानलाई आग्रह


पश्चिम प्रेस
बिहीबार , असोज १० २०८१
  • 364
    Shares

  • images
    images
    १२ गतेसम्म धानबाली नकाट्न कञ्चनपुरका किसानलाई आग्रह

    महेन्द्रनगर । मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन् । बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो । 

    जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरूले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण,विपदमा खटिने विषयगत शाखाहरू,स्थानीय विपद् व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ । 

    वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनु भयो ।  “किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरी रहेका छौँ” उहाँले भन्नुभयो, “यो सँगै थारु बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउँमा माछा मार्ने कार्य गरिने हुँदा वर्षा भइरहेका बेला चट्याङ पर्ने  सम्भावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौँ ।”

    बाढी, डुबान र कटानको जोखिम देखिएमा सम्बन्धित वडा कार्यालय, सुरक्षा निकायमा खबर गर्नका लागि आग्रह गरिएको उहाँले उल्लेख गर्नु भयो । भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुबानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धित सरोकारवालाहरूको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको उहाँको भनाइ रहेको छ ।

    विपद्को समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती,बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत विष्टले बताउनुभयो । तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपत्कालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरू जारी गरेका छन् । बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य सुरुआत गरेको छ । रासस


    प्रतिक्रिया दिनुहोस