आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

दोधारा–चाँदनी सुख्खा बन्दरगाहका रुख काट्ने सम्झौता


पश्चिम प्रेस
बुधबार, पुस २४ २०८१
  • 500
    Shares

  • images
    images
    दोधारा–चाँदनी सुख्खा बन्दरगाहका रुख काट्ने सम्झौता

    महेन्द्रनगर । दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुखबिरुवा हटाउने सम्बन्धमा सम्झौता भएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच यसबारे सम्झौता भएको हो । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माण तयारी छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रको ४२.३६ हेक्टर जग्गा उक्त संरचनामा प्रयोग हुँदैछ । यसका लागि नेपाल सरकारले मन्त्रिपरिषद् बैठकले २ असोज २०८१ मा स्वीकृति दिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्नेबारे विभाग र समितिबीच सम्झौता भएको समितिले जनाएको छ ।

    यो सम्झौतासँगै अब राष्ट्रिय निकुञ्ज कार्यालयले संरचना निर्माण स्थलमा भएको रुखको मूल्यांकन गरी विभागमा पठाउने छ । विभागबाट प्रमाणित भएपछि निकुञ्ज कार्यालयले रुख कटान आदेश उपलब्ध गराउने छ । आदेश पाएसँगै समितिले आफ्नै खर्चमा रुख कटान तथा मुछानको काम गर्ने समेत समितिले जनाएको छ ।

    आयोजनाले काट्ने रुखका लागि उक्त क्षेत्र बराबरको जमिन उपलब्ध गराउन नसकेका कारण सट्टा भर्नाबापत विभागलाई १४ करोड ८२ लाख रुपैयाँ दिएको हो ।

    योसँगै अब रुख कटान आदेश कुरिरहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार आदेश आएसँगै रुख कटान प्रक्रिया सुरु हुन्छ ।

    यो बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ । आयोजनाको कुल लागत ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यस संरचनाको निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेन्डर तयारी गरिसकेको समितिले जनाएको छ ।

    रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित हुने जानकारी भारतीय पक्षले गराएको समेत समितिले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस