महेन्द्रनगर । कैलाली बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका छन् । वैशाख ५ गते प्राकृतिक स्रोत व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेका उनीहरूले अन्य विरोधका कार्यक्रम पनि सार्वजनिक गरेका हुन् ।
वैशाख २ गते प्राकृतिक स्रोत व्यवस्थापन सङ्कायले क्याम्पस प्रशासनलाई कुनै जानकारी नदिई आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्त गर्न विज्ञापन प्रकाशित गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन् ।
आवश्यक कर्मचारी भर्ना क्याम्पसले नै गर्दे आएकोमा क्याम्पसलाई कुनै जानकारी नदिई प्राकृतिक स्रोत सङ्कायले आफूनिकटका व्यक्तिलाई जागिर दिन विज्ञापन खोलेको उनीहरूको आरोप छ ।
उक्त सङ्कायले ६ जना कर्मचारी आवश्यक रहेको भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।
कैलाली बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दे कालोपट्टि बाँधेर विरोध गर्ने सहित क्याम्पसको कामकाज ठप्प पार्ने सम्मका चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ,–‘क्याम्पसलाई कुनै परिपत्र नगरी कैलाली बहुमुखी क्याम्पसले सञ्चालन गरेको उक्त संकायका डिनलाई उक्त विज्ञापन स्थगित गरिनुपर्ने मागसहित उक्त कार्यको घोर भर्त्सना गर्दछौँ।’
उनीहरूले वैशाख ५ गते प्राकृतिक स्रोत व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेका छन् । यस्तै वैशाख ७ गते क्याम्पसमा कार्यरत सम्पूर्ण कर्मचारीले कालोपट्टि बाँधेर विरोध गर्ने, वैशाख ८ गते क्याम्पसको कामकाज बन्द गरी विरोध गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन हुनका लागी ०७७ माघ ४ गते एमओयु भए पनि ४ वर्ष बितिसक्दा समेत पूर्ण समायोजन नहुँदा प्राध्यापक तथा कर्मचारीहरूको वृद्ध विकास रोकिन गई मर्कामा परेको पनि गुनासो उनीहरूको छ ।
.gif)