महेन्द्रनगर । भुक्तानी नपाएपछि कञ्चनपुरका निर्माण व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पटक–पटक लिखित मौखिक अनुरोध गर्दा समेत सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयले भुक्तानी नगरेपछि निर्माण व्यवसायीहरूले आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
६ महिना पहिले भवन निर्माण सम्पन्न भइसक्दा समेत सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयले तीन निर्माण व्यवसायीको भुक्तानी रोकेको भन्दै निर्माण व्यवसायीहरू रुष्ट बनेका छन् ।
आइतबार निर्माण व्यवसायी सङ्घ कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे ६ महिनादेखि ३ निर्माण व्यवसायीले झन्डै ४ करोड बढी रकम भुक्तानी नपाएको भन्दै आपत्ति जनाएको छ ।
निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, इन्जिनियरी भवन र व्यवस्थापन संकायको भवन निर्माण गर्ने तीन निर्माण व्यवसायीले भुक्तानी नपाएको बताउनुभयो ।
विश्वविद्यालयले पटक पटक भुक्तानीका लागी आश्वासन दिँदै आएको भएपनी ६ महिना बितिसक्दा समेत भुक्तानी नगरेपछि निर्माण व्यवसायीहरूमाथि झन् पिडा थपिएको उहाँले बताउनुभयो ।
विश्वविद्यालयले निर्माण व्यवसायी प्रशंसा कन्स्ट्रक्सन धनगढी, कैलालीसँग व्यवस्थापन ब्लक निर्माणका लागी वि.सं. २०७७÷०७८ मा एक करोड ४७ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, इन्जिनियरिङ ब्लकको पहिलो, दोस्रो तल्लाको निर्माणका लागी एम.के.बिल्र्डस एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.ली.धनगढी कैलाली सँग एक करोड २० लाख ५० हजार रुपैँयामा ०७७÷०७८ मा ठेक्का सम्झौता गरिएको थियो ।
विश्वविद्यालयले प्रशासनिक ब्लकको निर्माणका लागी कुमार अमृत जे.भी.महेन्द्रनगर सँग एक करोड ४५ लाख ९४ हजार रुपैँयामा आर्थिक वर्ष ०७७÷०७८ मा ठेक्का सम्झौता गरेको थियो ।
एकातिर निर्माण सम्पन्न नहुँदै तीन वटै भवनहरू प्रयोगमा ल्याइएको भन्दै निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष भट्टले आपत्ति जनाउनुभयो ।
निर्माण सम्पन्न गरेको ६ महिना बितिसक्दा समेत विश्वविद्यालयले भुक्तानीका लागी आश्वासन मात्रै दिने तर भुक्तानी रकम रोकेपछि निर्माण व्यवसायीहरूले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
आइतबार पत्रकार सम्मेलनमा निर्माण व्यवसायीहरूले साता दिन भित्र भुक्तानी नगरिए विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष भट्टले तिन वटै निर्माण कम्पनीका बिच सम्झौता सम्पन्न भई कार्यादेश प्राप्त भए पश्चात् निर्माण कार्य थालनी भएपछि सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । तर भुक्तानीका लागी विश्वविद्यालयमा अनुरोध गर्दा समेत विभिन्न बहानामा बिल भुक्तानी नभएको अध्यक्ष भट्टले बताउनुभयो । निर्माण व्यवसायीहरूले व्याज सहित भुक्तानी गरिनुपर्ने माग राखेका छन् ।
.gif)