विश्वमा अनेक सभ्यता रहेका छन् । तिनीहरू मध्ये मानसी सभ्यता पनि एक हो । वैदिक साहित्यसँग सम्बन्ध रहेको यसको स्थापना इसापूर्व पन्ध्रौंदेखि तेह्रौं शताब्दीका बीचमा भएको हो । दश हजार वर्षभन्दा पनि पुरानो यो वैदिक सभ्यतापछिको प्रथम लौकिक सभ्यता हो । त्यसैले यसलाई मानसी सभ्यता भनिन्छ भने जो सिन्धुघाटी सभ्यताको मूल हो । यसको केन्द्र बिन्दु उत्तर हिमालयमा रहेको मानस पर्वत तथा कैलास मानसरोवर हो । जहाँबाट पूर्व,पश्चिम,उत्तर , दक्षिणतिर क्रमशः ब्रह्मपुत्र, सिन्धु ,शतद्रु र मानसी( कालीकर्णाली) महानदी प्रवाहित हुन्छन् । जसको निर्माण विधाता ब्रह्माले ऋषिहरूको अनुरोधमा गरेको हुन् ।
मानसी सभ्यता त्यही मानसतटमा विकसित भएको हो यसको मौलिक स्वरूप कालीकर्णाली भूखण्डमा स्थापित रहेको । पूर्वमा काग हिमाल कर्णाल एवम् पश्चिममा नन्दा पर्वत उत्तराखण्ड भारत तथा उत्तरमा कैलास मानससरोवर र दक्षिणमा महाकाली(शारदा)-कर्णाली सङ्गम घाघरा नदीसम्म मानसी सभ्यताको आधार भूमि रहेको छ । कर्णाली प्रदेश, कैलास-मानसरोवरक्षेत्र एवम् कालीकुमाउको केही भूगाग लगायत सुदूरपश्चिम प्रदेशको सम्पूर्ण भूभागलाई वेद, पुराण तथा इतिहासका ग्रन्थमा मानसखण्ड भनिएको छ । मूलतः काली र कर्णाली नदी जलाधार क्षेत्र नै मानस ,मानसी र मानसखण्ड उर्वरक भूपरिधि हो । जहाँ इतिहासको त्यो कालखण्डमा बृहत् जुम्ला-सिञ्जाराज्य , चम्पावत राज्य ,मणकोट राज्य, उकुँ राज्य ,अजयमेरू-डोटी राज्य , कुल्लेककोट- सङौणकोट बैतडीराज्य , बझाङ-थलारा राज्य ,अछाम लगायत राज्यका चल्ल,मल्ल चन्द,पाल,सिंह, शाही,शाह आदि राजा,राजाधिराज,महाराजाहरूको शासन व्यवस्था स्थापित भएको पाइन्छ ।
मानस भूखण्डमा विकसित भएको कलालाई मानसी कला भनिन्छ । यसलाई मानस लोककला पनि भनिन्छ । मानसखण्डको लोककलामा चित्रकला,हस्तकला र वास्तुकलाको विशेष स्थान रहेको छ। हुन त यहाँ गायन ,वाद्य एवम् शिल्पकलाको पनि महत्त्वपूर्ण स्थान छ । स्थानीय सामग्रीको प्रयोग गरेर चित्र बनाउनु मानसी चित्रकलाको विशेषता हो । यस कलाका संवाहक मानस नर-नारी नै हुन् । मानसी सभ्यतामा आज पनि गुरू परम्परा र पैत्रिक परम्परा जीवन्त रहेको छ । अहिले पनि देवभाषा संस्कृत पछिको पहिलो "मानसी" भाषा बोल्ने मानिसहरू मानसखण्ड प्रदेशमा रहने गर्दछन् । नेपाली भाषाको उत्पत्ति तथा विकास यसै मानसी भाषा सभ्यता र मानस भूमिबाट नै भएको हो । जो कैलास-मानससरोवर भू-परिधिको पौराणिक पदमार्ग भित्र पर्दछ । यहाँकी मूलदेवी मानसी गौरा हुन् भने मुख्य पर्व गौरा व्रत हो । यो मानसनारीको संस्कार र स्वतन्त्रताको पर्व हो । यसका अलावा विषु,व्यासी,अनन्ते,भुवा, पुष्यौडी, माघी, होली यहाँका मुख्य पर्वहरू हुन् । मानसखण्डमा ब्राह्मण, ठकुरी-क्षत्री,शूद्रजातिको निवास रहेको छ । यसका अलावा हिमाल- पहाडतिर व्यासी,मुगाली,वनराउत तथा तराईतिर थारू जाति एवम् अन्य जनजातिको समेत वसोवास रहेको छ ।
चालीस हजार तीर्थस्थलहरू रहेको मानसखण्डको मौलिक मानसी सभ्यता एवम् संस्कृतिलाई वैदिक सभ्यताको निरन्तरता मानिन्छ । मानसी सभ्यता र संस्कृति मानवीय सभ्यताको मूल हो ।
.gif)