डोट्याली समुदाय साँस्कृतिक रुपमा आफ्नो छ्ट्टै मौलिक पहिचान भएको समुदाय हो । यस समुदायमा पुखौँ देखि चलिआएका विभिन्न साँस्कृतिक परम्परा र रीतिरिवाजहरु रहेका छन् । तिनै विविध रीतिरिवाज र परम्परा मध्ये चैत्र महिनाको भेटाउलो चैतालो परम्परा पनि एक हो । यस समुदायमा चैत्रको महिनामा विवाह भइसकेकी दिदी बहिनीहरुलाई कोशेली सहित भेट्न जाने परम्परा रहेको छ । चेलिबेटी बिनाको घर र दिदीबहिनी बिनाको भाई हुनु दुर्भाग्यका रुपमा मानिने यस समुदायमा विवाह भइसकेका दिदी बहिनीहरुलाई चैत्र महिनामा मिठामिठा पकवान तथा वस्त्रहरु भेटका लगेर भेट्न जाने चलन रहेको छ । यस महिनामा स्थानीय रुपमा विशेष खान्की मानिने माणा, सेल, लौन, बटुक, पिञ्जरीको धुलो, सिरौना, ओखर, भमिरो, घिउँ, गुड आदि लगेर दिदी बहिनीलाई भेट दिने गरिन्छ । यसरी कोशेलीका रुपमा लगेका चिजवस्तुलाई सुदूरपश्चिममा भेटौलो भन्ने गरिन्छ । विशेष गरी दिदीबहिनीलाई दाजुभाईले भेट्ने यदि दाजुभाई नभए घरका अन्य सदस्यले पनि भेट्ने चलन डोट्याली समुदायमा रहेको पाइन्छ । दिदी बहिनीहरु पनि दाजुभाई कुन दिन भेट्न आउलान भनेर बाटो हेरी बसिरहेका प्रसङ्गहरु विभिन्न डोट्याली गीतहरुमा पनि पाइन्छन् । डोट्याली समुदायमा रहेको चैत मैना दादा चैत मैना .... लगायत विभिन्न गीतहरुले दिदी बहिनी भेट्ने परम्पराको महत्व झल्काउँछ । यस महिनामा वसन्तको शुभारम्भ पनि हुने भएकाले डोट्याली लोक परम्परामा वसन्तगान ÷ऋतुगान (भड़ा) पनि प्रस्तुत गर्ने गरिन्छ । दिदीबहिनी भेट्ने प्रसङ्गमै आधारित सदेउ बालाको भड़ा तथा विभिन्न विषय प्रसङ्गका आधारित सगराम कार्कीको भड़ा, सोभारौतको भड़ा आदि लोक साहित्यको प्रस्तुति पनि यस महिनामा प्रस्तुत गरिन्छ । नृत्य गेयात्मक विधा भडाÞ विशेष गरी सुदूरपश्चिमको लोकबाँजा हुड्कोका साथमा प्रस्तुत गरिन्छ । भड़ाका कलाकारले हुड्कोका साथ विभिन्न देवी देवताका मन्दिर तथा गाउँघरमा गएर भड़ा प्रस्तुत गर्ने गर्दछन् ।
.gif)