आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

संरक्षणको अभावमा  भग्नाविशेष बन्दै  बैतडीको ऐतिहासिक कुल्लेककोट दरबार


बिहीबार , चैत ३ २०७८
  • 1.5K
    Shares

  • images
    images
    संरक्षणको अभावमा  भग्नाविशेष बन्दै  बैतडीको ऐतिहासिक कुल्लेककोट दरबार

    बैतडी जिल्लामा प्राचीन महत्व र इतिहास बोकेका थुप्रै सम्पदाहरु रहेका छन् । यस क्षेत्रमा रहेका विभिन्न प्राचीन दरबार, कोट, किल्ला, गढी, देवल, मन्दिर तथा तिनीहरुमा रहेका ताम्रपत्र, शीलालेख, मुर्ती आदिले यस क्षेत्रको ऐतिहासिक महत्वलाई झल्काउँछ । यस्तै ऐतिहासिक महत्व झल्काउने प्राचीन सम्पदाहरुमध्ये बैतडी जिल्लाको दसरथचन्द नगरपालिकामा रहेको कुल्लेककोट पनि एक हो । बैतडी जिल्लाको सदरमुकाम गढीको ठिक तलपट्टी देवलहाट गाउँ नजिक रहेको कुल्लेककोट तत्कालीन समयमा चन्द राजाहरुले बनाएका थिए । प्रसिद्ध इतिहासकार आत्माराम ओझाको नेपाली इतिहास मन्थनमा १५/१६ औँ शताव्दीतिर राजा रानादेवले कुल्लेककोटमा राजधानी बनाइ यस क्षेत्रको शासन चलाएको उल्लेख गरिएको छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको शेषपछि बहादुर शाहले उक्त कार्यलाई निरन्तरता दिए । उनले डोटी राज्य विजय गरेपछि महाकाली नदीको सिमानामा पुग्ने बेला कुल्लेककोट दरबार बनाइ बसेका त्यस क्षेत्रका शासक रानाद्यौ (रानादेव) का सन्तान वंशधर रामचन्दका भाई झुलिचन्दले आफूसँग भएको शैनिक शक्ति लगेर बैतडीको कठपतेमा रहेको अग्लो डाँडामा शैनिक शिविर बनाई गोर्खाली सेनासँग युद्ध गरेको र गोर्खाली सेनामाथि ठूलो क्षति भएको ओझाको नेपाली इतिहास मन्थनमा उल्लेख गरिएको छ ।  
    यसरी हाम्रो प्राचीन इतिहास बोकेको कुल्लेककोट दरबार ऐतिहासिक महत्वका दृष्टिले महत्वपूर्ण रहेको छ । वर्तमान अवस्थामा संरक्षणका अभावमा यो दरबार भत्किएर भग्नाविशेषका रुपमा मात्र रहेको छ । स्थानीय बासिन्दा, स्थानीय सरकार तथा राज्यले यसप्रति कुनै  चासो नदेखाएकाले त्यसै हराएर जाने अवस्थामा रहेको छ । यस दरबारमा प्रयोग गरिएका ढुङ्गाहरु केटाकेटीहरुका खेल्ने साधन बनेका छन् । सुन्दर प्रकृतिको बीचमा रहेको यस दरबारको संरक्षण तथा पुनर्निमाण गर्न सकेमा यस क्षेत्रको इतिहास र पुर्खाहरुको योगदान जीवित रहने र प्राचीन ऐतिहासिक सम्पदाका रुपमा पर्यटकीय स्थल समेत बन्न सक्ने प्रवल सम्भावना रहेको छ । यसको संरक्षण र प्रचारप्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटनबाट समेत लाभ लिन सकिने अवस्था रहेको छ ।  यस्ता ऐतिहासिक महत्वका स्थलहरुको संरक्षण र प्रचारप्रसार हामी सबैको कर्तव्य हो ।  

     तस्बिर (उद्धव सिंह मार्कण्ड)

    kullikot.jpg

     

    kullikot1.jpg

     

    kullikot darbar.jpg




    प्रतिक्रिया दिनुहोस