सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

बैतडीको तल्लो स्वराड तिताबैमा लाग्ने फागु मेला (तिताबैकी फागु)


शुक्रबार, चैत ४ २०७८
  • 2.2K
    Shares

  • images
    images
    बैतडीको तल्लो स्वराड तिताबैमा लाग्ने फागु मेला (तिताबैकी फागु)

    सुदूरपश्चिम मौलिक सँस्कृतिको धनी छ । यसक्षेत्रमा मनाइने विभिन्न चाँडपर्वहरुको आफ्नै विशेष परम्परा र महत्व रहेको पाइन्छ । यिनै विविध सँस्कृति मध्ये विभिन्न अवसर र स्थानमा लाग्ने मेलाहरुले पनि सुदूरपश्चिमको मौलिक पहिचानलाई झल्काउने गर्दछ । सुदूरपश्चिममा लाग्ने मेलाहरु मध्ये बैतडीको तल्लोस्वराड अन्तर्गत तितावैमा लाग्ने फागु पनि एक महत्वपूर्ण मेला हो । होलपिर्वका अवसरमा लाग्ने यस मेलालाई फागुका नामले चिनिन्छ । फागुन महिनामा पर्ने भएकाले यसको नाम फागु पर्न गएको हो । फागुन होली पूर्णीमाका अवसरमा तितावैमा स्थित प्राचीन उदयदेव मन्दिरमा लाग्ने यो मेलामा  नेपालको सुदूरपश्चिम तथा भारतको उत्तराखण्डबाट मानिसहरु आउने गर्दछन् । धर्म, सँस्कृति तथा मनोरञ्जनका लागि लगाइने यस मेलामा चतुर्दशीको दिन फागु डन (होलिका दहन) का लागि बाँजागाँजा सहित हातमा सिस्नो समाती पातलबाट दल्लोको रुख तथा होलिका दहन सामग्री ल्याएर आउने गर्दछन् । होलीडाँडोको सुरक्षा र गाउँघरलाई आँसुरी शक्तिबाट जोगाउनका लागि सिस्नो समाउने प्रचलन रहेको बुढापाकाहरुले बताउँछन् । यउक्त सामग्री ल्याउने बेला उदयदेव लगायत स्थानीय देवीदेवताहरुको जयकारा लगाउने गरिन्छ । यसै अन्तर्गत सत्यको विय होस्, असत्यको नास होस भन्ने नारा पनि लगाइन्छ । चतुर्दशीको राती मन्दिरमा बस्ने भक्तजन तथा मन्दिरका कर्मचारीहरुको भोजनका लागि मकैको रोटी लग्ने गरिन्छ, जुन रोटीलाई मन्दिरमा उपस्थित सबैले प्रसादका रुपमा ग्रहण गर्दछन्  । फागुको राती उदयदेवका धामी कामेर विभिन्न कुराको बयान गर्दै गाउँगर्खाको शान्ति सुरक्षा र रोगब्याधी एवम् अमंगल हटाउने वचन तथा आर्षिवाद दिने गर्दछन् । फागुको दिन मन्दिरभन्दा अलि पर गएर परम्परागत विधिविधान अनुसार गाउँका सम्पूर्ण मानिसहरु सहभागीभएर होलीका दहन गर्दछन् । होलीडो र चिर तथा ध्वजापाताकालाई होलीढुङोको टुप्पामा बाधेर होलिका दहन गर्ने गरिन्छ ।  होलिका जलाएपछि गाउँगर्खामा आँसुरी शक्तिको विनाश भएको सम्झेर खुसीयाली मनाउने गरिन्छ । होलीका दहनपछि त्यसबाट बनेको खरानी लगेर गराखेतमा छर्ने गरिन्छ, जसले गर्दा सागपात तथा फलफूल राम्रो फल्ने जनविश्वास रहेको छ । यस मन्दिरमा फागुको अवसरमा राँगा तथा बोकाको वली पनि हुने गर्दछ । होलीका दहन गरिसकेपछि मात्र वली हुने गर्दछ । वली पश्चात मानिसहरुले विभिन्न मनोकामना तथा धार्मिक लाभका लागि मन्दिरमा पूजाआजा गर्ने, स्या (नेजा, ध्वजा, घन्टी आदि) चढाउने परम्परा रहेको छ । यसै अवसरमा बाँजागाँजा सहित धामीझाक्रीहरु काम्दै पालकी (चलो ) यात्रा हुने गर्दछ । किंवदन्ती अनुसार उदयदेवले ढुङ्गाको तलपट्टी एक राक्षसलाई च्यापेर राखेको र त्यसबाट दशथरी (दसपल्या) जातीलाई कुनै पनि हानी हुन नदिने वचन उदयदेव लगायतका देवीदेवताको वाणी वचन हुने गर्दछ । यस क्षेत्रमा चन्द, भण्डारी लगायत दश थरीका मानिसको बसोबास भएकाले यसलाई दसपल्या गाउँ पनि भनिने गरेको बुढापाकाहरुले बताउँछन् ।

     
    यो मन्दिरको धार्मिक तथा साँस्कृतिक महत्वका साथै ऐतिहासिक, पुरातात्विक एवम् पर्यटकीय महत्व पनि रहेको छ । यस मन्दिरमा प्राचीन कालदेखि चढाउँदै आएका देवपूजन सामग्री एवम् बाँजागाँजा, लोक पहिरनका वस्तुहरु रहेका छन् । त्यसै गरी ग्वाल्लेकको सुन्दर प्रकृतिका काखमा लाग्ने यो मेलाको पर्यटकीय महत्व पनि रहेको पाइन्छ । मेलाको दिन स्थानीय परिकारका साथै अन्य चिजवस्तुको विक्री वितरणले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुगाइरहेको पाइन्छ । 




    प्रतिक्रिया दिनुहोस