बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

सहयोगको पर्खाइमा कञ्चनपुरका राना दम्पती


पश्चिम प्रेस
आइतबार, चैत ६ २०७८
  • 590
    Shares

  • images
    images
    सहयोगको पर्खाइमा कञ्चनपुरका राना दम्पती

    महेन्द्रनगर कञ्चनपुुरको लालझाडी गाउँपालिका–१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्न लागेका छन् । उनका ६५ वर्षीया श्रीमती सोनावत्ती राना शारीरिकरूपमा अपाङ्ग छिन् । उनीहरूका सन्तान छैनन् । सम्पत्तिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ ।

    सो जग्गामा राना दम्पतीको कच्ची घर छ । दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानाको जोहो मिलाउने गरेका छन् । “घरबासका लागि मात्रै जग्गा छ, त्यो पनि ऐलानी हो”, सोनावत्तीले भनिन्, “कम्मरमुनिको भाग चल्दैन, खानाका लागि छिमेकीले जोहो मिलाउँछन् । दुःख, बिराम परेका बेला दिदीको छोराले हेर्ने गरेको छ ।” बस्नका लागि घर र शौचालयको व्यवस्था दिदीको छोराले गरेको उनले बताइन् । रामसिंहले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ताको रकम पाउँछिन् । सोनावत्तीले समेत अपाङ्गता भत्ता पाउँछिन् । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ ।

    “दुवै जना बेला–बेला बिरामी पर्ने गरेकाले भत्ताको रकमले धान्दैन”, रामसिंहले भने, “जेठी सासुका छोराले उपचार गराउने गरेका छन्।” अरुको भरमै बाँच्नुपरेको उनले बताए । पहिलाकी श्रीमती रोगव्याधिका कारण बितेपछि उनले सोनावत्तीसँग दोस्रो विवाह गरेका हुन् । “अपाङ्गता भएको थाहा थियो, घर सम्हाल्ने कोही नभएपछि सोनावत्तीसँग विवाह गरेँ”, उनले भने, “दुईपटक बिरामी भएका कारण गर्भमै सन्तान बिते । त्यसपछि सन्तानै भएनन् ।”रामसिंह दमका बिरामी हुन् ।

    थोरै हिँड्दा श्वास फुलेर आउँछ। यसैले काम गर्न सक्दैनन् । उनकी श्रीमती शारीरिकरूपमा अपाङ्गता भए पनि खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्नका लागि हातको सहाराले घिस्रेर काम चलाउँछिन् । “शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ”, रामसिंहले भने, “बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ। हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो निकै चिन्ता छ ।” दातृ निकायको सहयोगमा गाउँपालिकाको स्वास्थ्य शाखाले दुवै दम्पतीको अवस्थालाई मध्यनजर गरी घरमै पुगेर कोरोनाविरुद्धका दुई खोप लगाएका छन् ।

    “बिरामी पर्दा गाउँ नजिकै रहेको आधारभूत स्वास्थ्य केन्द्रमा समेत पुग्न सक्दैनौँ । कहिले छिमेकी गुहार्छौँ, कहिले अन्य कसैबाट औषधि मगाउँछौँ। बिरामीले थला पर्दा टाढाको अस्पताल जान भने सकिँदैन् । दिदीको छोराले आफ्नो घर र यहाँ हेर्नुपर्ने भएपछि उसलाई समेत निकै कर गर्न सक्दैनौँ । रोगलाई दबाउँदै बस्नेसमेत गरेका छौँ”, सोनावत्तीले भनिन्, “निकै कष्टकर जीवन बिताउनुपरेको छ, यस्तो कसैलाई नहोस् ।” 


    प्रतिक्रिया दिनुहोस