आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमको साँस्कृतिक मौलिकता : विशु पर्वमा विष बगाउँने र सिस्नो लगाउने परम्परा


बिहीबार , वैशाख १ २०७९
  • 2.0K
    Shares

  • images
    images
    सुदूरपश्चिमको साँस्कृतिक मौलिकता  : विशु पर्वमा विष बगाउँने र सिस्नो लगाउने परम्परा

    कुनै पनि समाजमा परम्परादेखि चल्दै आएका विभिन्न रीतिरिवाज, चालचलन, मूल्यमान्यता, भाषा, कला आदिको समग्र स्वरूपलाई संस्कृति भनिन्छ । अर्को शव्दमा भन्नुपर्दा कुनै पनि समाजको समग्र जीवनपद्दति नै सँस्कृति हो ।  संस्कृतिले हरेक समुदायको मौलिक पहिचान बोकेको पाइन्छ । नेपालको सुदूरपश्चिम प्रदेश पनि साँस्कृतिक रूपमा अत्यन्त समृद्ध रहेको पाइन्छ । यस क्षेत्रका मानिसहरूले परम्परादेखि प्रयोग गर्दै आएको भाषा तथा सँस्कृति अन्य समुदायभन्दा फरक तथा मौलिक प्रकृतिको छ । यस क्षेत्रमा जन्मदेखि मृत्युसम्मका सँस्कार, मनाइने विभिन्न चाँडपर्व एवम् परम्परागत जीवनशैली अन्य क्षेत्रको भन्दा मौलिक प्रकृतिको छ । सुदूरपश्चिमको यस्तै मौलिकता झल्काउँने विभिन्न साँस्कृतिक विषयवस्तुहरु मध्ये नयाँ वर्षको अवसरमा मनाइने विशु पर्व पनि एक हो ।  
    विक्रम सम्वत् अनुसार हरेक वर्ष वैशाख महिनाको एक गतेलाई यस क्षेत्रमा विशु तथा विशुपतीका नामले एक महत्वपूर्ण पर्वका रुपमा मनाइने गरिन्छ । यस पर्वलाई विष फाल्ने पर्वका रुपमा पनि चिन्ने गरिन्छ । हिन्दुहरुमा यस दिनलाई नयाँ वर्षका रुपमा सबैले मनाउने गरेको भए पनि सुदूरपश्चिममा भने मौलिक प्रकृतिले मनायने गरिन्छ । यस दिन हरेक मानिसहरु बिहानै गंगा स्नान, तीर्थ स्नान तथा घरमै पनि स्नान गरेर विष बगाउने गर्दछन् । स्नान गर्दा विषको प्रतीक स्वरुप प्याउलीको फूललाई काँधमा राखेर नुहाइ विष बगाउने र नुहाइ सकेपछि अन्य फूललाई कान तथा शिरमा राख्ने गर्दछन् । नुहाउँदा अन्य मन्त्रका साथै विष बग्यो फूल चढ्यो भन्ने प्रचलन रहेको छ । यसरी विधिपूर्वक गरिएको यसदिनको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ ।  विधि पूर्वग स्नान गरी विष वगाउने कार्य गरिने भएकाले पनि यस पर्वको नाम विशु तथा विशुपती रहेको भन्ने मान्यता रहेको पाइन्छ । त्यसै गरी यस पर्वको दिन सिस्नो लगाउने पनि गर्दछन् । रमाइलोका लागि देवर, नन्द र भाउजु तथा भिनाजु, सालासालीले आदिले एक आपसमा सिस्नो लगाउने गरे पनि यो दिन हरेक मानिसले शरीरमा रोग नलागोस र विशाक्त पदार्थ हटेर जाओस् भन्नका निमित्त सिस्नो लगाउने गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रुपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिनन शक्तिपीठहरुमा पनि विशेष पूजा तथा कुनैकुनै ठाउँमा मेला समेत लाग्ने गर्दछ । यस दिनमा इष्टमित्र तथा घरपरिवारका सदस्यहरु मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्का आदि विभिन्न परिकारहरु पकाएर विषु मनाउँने गर्दछन् । 
    वर्तमान समयमा विश्वव्यापीकरण र पश्चिमा सँस्कृतिको प्रभावले हाम्रो मौलिक पहिचान बोकेका यस्ता पर्वहरुप्रतिको चासो बिस्तारै घट्दै गइरहेको छ । यस्ता मौलिक सँस्कृतिको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनु र पुस्तान्तरण गराउन नसकेमा बिस्तारै हाम्रो सँस्कृति हराएर जाने खतरा रहेको छ । यसकारण हाम्रो सँस्कृतिमा भएका विकृत पक्षहरुको निराकरण गर्दै सबल पक्षहरुको उजागर गरी यसको संरक्षण र प्रचारप्रसार गर्नु हामी सबैको कर्तव्य हो ।  




    प्रतिक्रिया दिनुहोस