मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

डोटीमा बजार अनुगमन, १ लाख बढीको अखाद्य वस्तु नष्ट


पश्चिम प्रेस
बिहीबार , वैशाख १५ २०७९
  • 869
    Shares

  • images
    images
    डोटीमा बजार अनुगमन, १ लाख बढीको अखाद्य वस्तु नष्ट

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमन टोलिले १ लाखभन्दा बढी मूल्यको अखाद्य सामग्री नष्ट गरेको हो । 

    सिलगढी, दिपायल, राजपुर, एयरपार्ट क्षेत्रमा रहेका बजारमा गरिएको अनुगमनमा टोलीले १ लाख ३४ हजार ३ सय ६० रुपियाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजिया दाना, दालमटरहरु, बिस्कुट, खाने तेल, सोयबिन, काजु बदाम, चाउचाउ, मसालाहरु भेटिएका थिए । 

    उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ । बजार अनुगमनका क्रममा खाद्य पदार्थमा सुजी, मरमसाला, चाउचाउ, बिस्कुट, कोकाकोला, दालमोट प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिएका छन् ।

    खाद्य पदार्थमा म्याद नाघेका, पकाउने खाद्य सामग्रीहरूमा कलरको बढी प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राविधिक सहायक सागर सापकोटाले बताए । नापतौलका सामग्रीहरू सम्बन्धित कार्यालयबाट परीक्षण पश्चात् मात्र प्रयोग गर्न आवश्यक रहेको गुणस्तर तथा नापतौल कार्यालय सिलगढीका प्रमुख शम्भु आचार्यले बताए ।

    अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको हो ।


    प्रतिक्रिया दिनुहोस