महेन्द्रनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा कञ्चनपुरका दलहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घर–घरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ ।
मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु गरेका छन् । घरहरुमा विभिन्न पार्टीका राता झण्डाहरु फहराएका छन् । जसले गर्दा गाउँघरमा चुनावी माहोल छाएको छ । टोलछिमेकमा उम्मेदवारका वारेमा बहस र छलफल सुरु भएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहका उम्मेदवारहरु यतिखेर मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका छन् । स्थानीय तहको विकास र समृद्धिको मुख्य नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका हुन । उम्मेदवारहरुले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तिव्रता दिएका छन् ।
जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली काँग्रेस र बाम गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी लगायत साना दलहरुले चुनावी घोषणा पत्र लिएर मतदाताका घर घरमा पुग्न थालेपछि गाउँमा राजनैतिक जागरण छाएको छ । उम्मेदवारहरु घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित देखिन्छन् । गाउँको विकासको योजना सहित उम्मेदवारहरु घरमा आउन थालेपछि खुसी लागेको भीमदत्त नगरपालिका भाषीकी जुना सुनारले बताइन् ।
नेकपा एमालेले जिल्लाका सवै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरेको बताएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । यस्तै नेपाली काँग्रेसले दिउँसोमा गाउँघरमा साना साना कोणसभा र बिहानमा मतदाताका घरघरमा पुगेर भेटघाट गरेको छ । नगर तथा पालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार र वडाध्यक्षका उम्मेदवार सहित जिल्लाभर एकसाथ चुनावी अभियान सञ्चालन गरिएको कांग्रेसले जनाएको छ ।
चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका छन् । जिल्लामा माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ ।
जिल्लाको ५ स्थानीय तहमा प्रमुख पदमा उम्मेदवार उठाएको माओवादीले चुनावी अभियान लिएर गाउँ पसेको छ । यस्तै भीमदत्त नगरपालिकामा पनि एकीकृत समाजवादी र माओवादी बीच चुनावी तालमेल भएको छ । समाजवादीले भीमदत्तमा मेयरको उम्मेदवार उठाएको छ भने माओवादीले उपमेयरमा उम्मेदवार उठाएको छ । चुनावी तालमेल गरेसँगै समाजवादी र माओवादीले संयुक्त रुपमा चुनावी कार्यक्रम लिएर नगरका वस्तीमा पुगेका छन् ।
अब निर्वाचित भएर आउने जनप्रतिनिधिले ग्रामिण सडक कालोपत्रे,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि,कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउनुपर्ने मतदाताहरुको सुझाव छ ।
.gif)