मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख


मंगलबार, वैशाख २७ २०७९
  • 693
    Shares

  • images
    images
    महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

    कैलाली, कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन् । अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यी दुबै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यी पालिकामा नेकपा (एमाले) सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । टीकापुरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता खडक शाह उपप्रमुखको उम्मेदवार हुनुहुन्छ । उहाँ टीकापुरलाई सुन्दर टीकापुर बनाउनुका साथै महिला, उत्पीडित जाति, लिङ्ग, समुदायका समस्या समाधानमा सक्रिय भएर काम गर्ने बताउनुहुन्छ ।

    ‘‘म स्वभावैले पनि महिलाका क्षेत्रमा काम गर्दै आएको मानिस हुँ । समाजमा सबै वर्ग तथा लिङगको समान अस्तित्वका लागि मैले पहल गर्दै आएको छु’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै सुन्दर टीकापुर बनाउने मेरो अभियान छ ।’’ टीकापुरमा एमालेबाट उपप्रमुख पदका उम्मेदवार उपमा केसी महिला हकहित, अधिकार स्थापना, महिलालाई स्वरोजगार बनाउनका लागि नेतृत्वमा आउन खोजेको बताउनुहुन्छ । ‘‘म यसअघि पनि कार्यपालिका सदस्य भएर महिलाको विकासका लागि काम गरेकी छु, महिलाको जागरणका लागि, आत्मनिर्भर बनाउन, क्षमता विकास गर्न काम गरेकी छु’’, उहाँ भन्नुहुन्छ, ‘‘अब थप महिलाका सवालमा काम गर्नेछु ।’’ नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार उल्कादेवी विक महिला सशक्तिकरणका लागि महिलालाई अवसर दिन, अगाडि बढाउनुका साथै पिछडिएका सबै बर्गलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

    ‘‘सदियौँदेखि अवसर नपाएका समुदायका महिलालाई अघि ल्याउनेछु, म शिक्षाक्षेत्रबाट आएको भएकाले, शिक्षामा भएका विभेद समेत अन्त्य गर्नेछु’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै उपप्रमुख पद जिम्मेवार पद भएकाले नगरपालिकामा सुशासन, भ्रष्टाचार नियन्त्रणमा मेरो पहल रहनेछ ।’’ एमालेका तर्फबाट जानकी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार गीता चौधरी महिलाका सवाल, समस्याको थुप्रो रहेकाले महिलाका समस्या समाधान गर्न, महिलालाई आयआर्जनसँग जोड्न, विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ । ‘‘महिलाहरु उद्यमशिल बन्न नसकेका, आयआर्जनमा जोडिन नसकेको अवस्था छ’’, चौधरी भन्नुहुन्छ, ‘‘पहिलो प्राथमिकता महिलालाई व्यवसायिक, उद्यमशिल बनाउन तथा आर्थिक क्रियाकलापमा जोड्न पहल गर्नेछु । ’’ सत्ता गठबन्धनका तर्फबाट माओवादीका जानकीमा उपाध्यक्षमा पुरुष उम्मेदवार हुनुहुन्छ ।

    उपाध्यक्षका उम्मेदवार जयप्रकाश दहित आफूले युवा र बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभवलाई पालिकामा प्रयोग गर्ने बताउनुहुन्छ । ‘‘युवालाई रोजगारीको समस्या छ । म युवालाई पालिकामै रोजगारीका वातावरण सिर्जना गर्नेछु’’, उहाँ भन्नुहुन्छ, ‘‘म पुरुष भए पनि महिलाका समस्यालाई नजिकबाट देखेको छु, समस्या महसुस गरेको छु । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्न म थप सक्रिय भएर काम गर्नेछु ।’’ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जानकीमा उपाध्यक्षका उम्मेदवार लालमति कठरिया महिलालाई अगाडि बढाउने, महिलामाथि हुने विभेद् अन्त्यका लागि आफू उपाध्यक्षमा आउन खोजेको बताउनुहुन्छ । ‘‘महिला बालविवाह, बहुविवाह, घरेलु हिंसाको शिकार भएका छन्, आफ्नै घरमा असुरक्षितर छन्, आफ्नो घर उनीहरुका लागि असुरक्षित बन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘महिलाका साना साना समस्यालाई समाधा गर्नेछु । महिलाका लागि पालिका घरजस्तै बनाउनेछु ।’’ 




    प्रतिक्रिया दिनुहोस