सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

आयोगकै मापदण्डमा खर्च विवरण मिलाउँदै उम्मेदवारहरू, ८ जनाले बुझाए विवरण


पश्चिम प्रेस
शुक्रबार, जेठ २० २०७९
  • 483
    Shares

  • images
    images
    आयोगकै मापदण्डमा खर्च विवरण मिलाउँदै उम्मेदवारहरू, ८ जनाले बुझाए विवरण

    महेन्द्रनगर ।  ३० वैशाखको निर्वाचनका लागी चुनावमा उठेका उम्मेदवारहरूले खर्च विवरण बुझाउन सुरु गरेका छन् । उम्मेदवारहरूले वैधानिक खर्च विवरण निर्वाचन आयोगलाई बुझाउँदै हारजितको समीक्षा गर्न थालेका हुन् । 

    निर्वाचन आयोगले पद अनुसार फरक–फरक खर्च हद छुट्याएको थियो । उम्मेदवारहरूले पनि चलाखी पूर्वक तोकिएकै हदमा विवरण भर्न थालेका छन् । निर्वाचन कार्यालय कञ्चनपुर स्रोतबाट प्राप्त विवरण अनुसार आठ जना उम्मेदवारले बिहीबार सम्म खर्च विवरण आयोगलाई बुझाएका छन् । 

    निर्वाचनमा नगरपालिकाको हकमा प्रमुख र उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार , वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित वा अल्पसङ्ख्यक सदस्यले रु। २ हजार खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो । यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्षले ३ लाख ५० हजार, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित वा अल्पसङ्ख्यक सदस्यले १ लाख ५० हजार खर्च गर्नुपर्ने सीमा तोकेको थियो ।

    वास्तवमा उम्मेदवारहरूले कति खर्च गरे त रु त्यसको जानकारी आयोग सँग पनि छैन । तर हदमा तोकिएकै विवरण आयोगलाई प्राप्त भएको जनाइएको छ । 

    उनीहरूबाट न त खर्च स्लीप नै माग गरिएको छ, न त खर्च गरिएका थप प्रमाण नै निर्वाचन आयोगले खोजेको छ । जिल्ला निर्वाचन अधिकृत उदय राज जोशीले उम्मेदवारहरूले गरेको खर्च ‘स्व–घोषणा’ गर्ने गरेका बताए । जती खर्च गरेपनी आयोगकै हदमा खर्च गरेको उल्लेख गर्न उम्मेदवारहरू पनि हिच्कीचाएका छैनन् । 

    उनिहरुले बुझाएको विवरणमा सवारी साधन खर्च, सवारी इन्धन खर्च, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी कार्यकर्ता परिचालन, मतदाता नामावली खरिद लगायत विभिन्न शीर्षकमा खर्च गर्नुपर्ने भनिएका रकम सोही हदमा उल्लेख गर्ने गरेको पाइएको छ ।
    निर्वाचनको समयमा एकै दिन लाखौँ खर्च गरेका उम्मेदवारहरूले खर्च विवरण बुझाउँदा भने सोही मापदण्ड पछ्याउने गरेको देखाएको छ । 
    दोधारा चाँदनी नगरपालिकामा प्रमुख पदका उम्मेदवार भीम बहादुर कुमालले विभिन्न शीर्षकमा ३ लाख ९८ हजार ७ सय रुपैयाँ निर्वाचन आचार संहिता अनुरूप खर्च गरेको विवरण जिल्ला निर्वाचन आयोगमा बुझाएका छन् । 
    भीमदत्त नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार कृष्णदत्त जोशीले निर्वाचन नियमावली २०७३ को नियम ४० तथा आयोगबाट स्वीकृत निर्वाचन आचार संहिता अनुरूप नै खर्च गरिएको विवरण बुझाएका छन् । उनले विभिन्न १० शीर्षकमा २ लाख २१ हजार खर्च गरेको विवरण आयोगलाई बुझाएका हुन् । 

    यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर ५ मा वडा सदस्य पदका उम्मेदवार भीम घटाले पनि खर्च विवरण आयोगलाई बुझाएका छन् । उनले विभिन्न शीर्षकमा रु।१३ हजार ५ सय खर्च भएको विवरण बुझाएका छन् । सोही वडामा महिला वडा सदस्य पदका उम्मेदवार यशोदा चन्दले पनि खर्च विवरण आयोगलाई बुझाएकी छन् । उनले निर्वाचन अवधिमा २४ हजार ५ सय खर्च गरेको विवरण बुझाएकी हुन् । 

    यस्तै सोही वडामा दलित महिला वडा सदस्यकी उम्मेदवार लक्ष्मी कामी लुहारले मोटरसाइकल र गोष्ठी परिचालन खर्च गरी रु।१० हजार खर्च भएको विवरण बुझाएकी छन् । सोही वडामा वडा अध्यक्षका उम्मेदवार गगन चन्दले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरणमा सवारी इन्धन खर्च, प्रतिनिधि परिचालन, मतदाता नामावली खरिद, सवारी साधन, ढुवानी, कार्यालय सञ्चालन, विविध गरी रु ८७ हजार खर्च भएको आयोगलाई विवरण बुझाएका छन् । 

    बेदकोट नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार राजुराम सार्की भुलले पनि निर्वाचन आयोगलाई बुधवार खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगलाई बुझाएको खर्च शीर्षक अनुरूप उनले ३४ हजार ७ सय खर्च गरेको उल्लेख गरेका छन् । 
    निर्वाचन आयोग नेपालले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र उम्मेदवारहरूलाई खर्च विवरण बुझाई सक्नु पर्ने सम्बन्धी सबैमा सुचिकृत गरेको थियो। सोही अनुरूप उम्मेदवारहरूले खर्च विवरण आयोगलाई बुझाउन थालेका हुन् । 

    सकियो ढुवानी, केही महिनामै धुल्याइने

    जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लामा तोकिएका सबै निर्वाचन क्षेत्रबाट निर्वाचन सामाग्री ढुवानी गरिएको जनाएको छ । जिल्ला स्थित ८ पालिकाबाट निर्वाचन सामाग्री कार्यालयमा ल्याइएको सूचना अधिकारी भान बहादुर महराले जानकारी दिए । उनले जिल्लाको बेदकोट नगरपालिकामा निर्वाचन सामाग्री तयारी अवस्थामा राखिएकाले शुक्रवार सम्म ल्याइने जनाए ।  

    चुनावमा प्रयोग भएका अर्धकट्टी, सदर मत, बदर मत, अनुसूची एवम् अन्य सामाग्रीहरू कार्यालयमा ल्याइएका जनाइएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी महराले उक्त खसालिएका मत धुम्याउनुपर्ने व्यवस्था बमोजिम जिल्ला समन्वयको निर्वाचन सकिए लगत्तै धुम्याइने समेत जनाए ।


    प्रतिक्रिया दिनुहोस