सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

टनकपुरको पानीले पहिलो रोपाइ


पश्चिम प्रेस
बिहीबार , असार १६ २०७९
  • 521
    Shares

  • images
    images
    टनकपुरको पानीले पहिलो रोपाइ

    महेन्द्रनगर । नेपाल–भारतबीच एकिकृत महाकाली सन्धि सम्झौता भएको २६ वर्षपछि नेपालले टनकपुर ब्यारेजबाट पानी पाएपछि महाकाली सिचाँइ नहरमा पानी सञ्चालन गरिएको छ ।
     बुधबार टनकपुर बाट आएको पानी महाकाली सिचाँइ तेस्रो चरणको मुल नहर अन्र्तगत बेदकोट नगरपालिका–४ स्थीत बगुनमा पुगेपछि उक्त स्थानमा टनकपुरबाट आएको पानीले रोपाई गरी धान दिवस मनाइएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र जलस्रोत तथा सिचाँइ विभागका महानिर्देशक सुसिल चन्द्र आर्चायले टनकपुरबाट आएको पानीले रोपाइ लगाई धान रोपेर महाकाली नहरमा पानी सञ्चालनको शुभारम्भ गरेका हुन । 
     जलस्रोत तथा सिचाँइ विभागका महानिर्देशक सुसिल चन्द्र आर्चायले ढिलै भए पनि महाकाली सन्धि कार्यान्वयन भएको बताए ।‘सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएपछि यसको कामले गति लिएको छ ।’ उनले भने–‘कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवनबस्तीसम्म सिचाँइ सुविधा उपलब्ध गराउन विभागले तिब्र काम गरिरहेको छ ।’ उनले २२ वटा शाखा नहरहरु निमार्णका लागि ठेक्का भइसकेको बताउँदै एक वर्षभित्र किसानको खेतमा पानी पुग्ने बताए । 
     सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले यो आयोजनाले कञ्चनपुर कैलालीको ठुलो भु–भागमा सिचाँइ सुविधा पुग्ने भएकाले यहाँको उत्पादकत्व बढ्ने बताए ।  नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने आयोजना कार्यालयले जनाएको छ । नेपालतर्फ निर्माण सम्पन्न भएको साढे २८ किलोमिटर मूल नहरको परीक्षण पश्चात् १० क्युसेक पानी नियमित रूपमा सञ्चालन गरिनेछ । आयोजनाका ईन्जिनियर शम्भु पण्डितले किसानको आवश्यकता अनुसार नहरमा पानी छोड्ने बताए ।‘अहिले शाखा नहर नबन्दा किसानको खेतसम्म पानी पुग्न सकेको छैन ।’उनले भने–‘महाकालीबाट पानी ल्याएर खोलामा त्यतिकै छोड्नु भन्दा यहाँका किसानहरुले पम्पबाट भएपनि उपभोग गर्छन भने आवश्यकता अनुसार पानी ल्याउछौ ।’
      अहिले शाआ नहर नबन्दा उक्त पानी मुसेपानी र स्याली नदीमा छोड्ने तयारी आयोजनाको छ । शाखा नहरहरू निर्माण नभएका कारण अहिले नदीमा छाड्नुपरेको पण्डितको भनाई छ  । मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ । २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
      सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ । २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । शाखा नहर निर्माणका लागि ८ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ ।
     २०६३ मा निर्माण सुरु भएको उक्त आयोजनाको हालसम्म साढे २८ किलोमिटर मूल नहर निर्माण भएको छ । थप १० किलोमिटर नहर निर्माणको प्रक्रिया अघि बढेको छ । दुई वर्षअघि उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो । कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्वाससम्मै सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको नहरको लम्बाइ १ सय ५१ किलोमिटर छ । 


    प्रतिक्रिया दिनुहोस