धनगढी – आजकल प्रायःजसो दिनभरी अस्तव्यस्थ रहने क्षेत्र मध्येको एक हो धनगढीको मुख्य बजार क्षेत्र । धनगढी ट्राफिक चौराहा, बसपार्क, एल एन चोक, हस्पिटल लाइन हुँदै क्याम्पस रोडसम्मको क्षेत्र सधैँ जसो निकै भरिभराउ हुनुको मुख्य कारण अटो रिक्सा अथवा ई–रिक्सा हरु मानिन्छन ।
पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जिल्लामा लगातार भै रहेका सडक दुर्घटना कम गर्न विभिन्न किसिमका पहल कदमी चालिरहेको छ यस विषयलाई लिएर सम्बन्धित निकायहरुको ध्यानाकर्षण सँगै विभिन्न नियम कानुनहरु बने पनि ती भनिएका र गरिएका निर्णयहरु प्रभावकारी हुन सकेका छैनन ।
सडक दुर्घटनाको अवस्था हेर्दा दुर्घटनाको मुख्य प्रतिनिधि स्थलको रूपमा धनगढी को ६ लेन सडकलाई लिन सकिन्छ जहाँ दैनिक एकदुई दुर्घटना भएकै हुन्छन् ।
हालै मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जिल्लामा लगातार भइरहेका सडक दुर्घटना कम गर्न सडक क्षेत्रमा रहेका डुलुवा जनावरहरुलाई रिफ्लेक्टिब बेल्ट लगाउने, नो पार्किङमा राखिएका गाडीहरुमा व्हिल लक लगाउने, ट्यांकरहरुका लागि पार्किङ स्थल निर्माण गर्ने, लेन अनुसाशन लगायत धनगढी बजार क्षेत्रका सबै अटो रिक्साहरुमा जोर विजोर प्रणाली लागु गर्ने कामहरु ग¥यो र एकातिर त्यसले पूर्णता पाउनेक्रम चलिरहेकै बेला अर्कोतिर धनगढीका अटो व्यवसायीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र अटो व्यवसायी संघ धनगढीले लागु गरेको जोर बिजोर प्रणाली नमान्ने पनि बताइरहेका छन् ।
गत बिहिबार देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र अटो व्यवसायी संघको समन्वयमा धनगढीको ट्राफिक चौराहा देखि क्याम्पस रोड सम्म जोर बिजोर प्रणाली अन्तरगत अटो सञ्चालन गर्ने भनी नियम लागु गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको टोलीले सोही नियमलाई कार्यान्वयन गर्न पौष २ गते क्याम्पस चौक देखि ट्राफिक चौराहा सम्मको सडक खण्डमा जोर नम्बर प्लेट भएका अटो रिक्सा मात्रै सञ्चालन गर्न र बिजोर नम्बर प्लेट भएका अटो रिक्साहरूलाई भित्री तथा अन्य शाखा सडकमा सञ्चालन गर्न आग्रह गर्दै प्रदेश प्रहरीको मैदान (एसपीए ग्राउण्ड) मा बिजोर नम्बर प्लेट भएका अटो चालकहरूलाई सम्झाई बुझाई गरेको थियो । यद्यपि अटो चालकहरूले भने आफूहरूले दैनिक काम गरेको आधारमा घर खर्च चलाई राखेको र जोरबिजोर प्रणाली लागु भएपछि दैनिक खर्च चलाउन मुस्किल हुने हुँदा सो नियम नमान्ने बताएका छन् ।
उनीहरूले जोर बिजोर प्रणाली अमान्य भएको बताएका छन् । धनगढी ५ हसनपुर निवाशी अटो चालक राम ब. चुनाराले आफूहरू साना लगानी कर्ता भएको हुँदा यो निर्णय आउँदा बच्चाहरू भोको रहने अवस्था आएको बताउनुभयो । “हामी साना लगानी कर्ता हौँ, ऋण निकालेर अटो सञ्चालन गरिरहेका छौँ । विदेश गएर काम गर्न त्यो अनुसारको शैक्षिक योग्यता र कार्यदक्षता पनि छैन । धरै लगानी गरेर व्यवसाय गर्न सक्ने क्षमता पनि छैन । हामी स्वरोजगार हुन र बच्चाहरूको भोको पेट भर्न अटो चलाइरहेका छौँ । यो निर्णयले बच्चाहरू समेत भोकै राख्नुपर्ने अवस्था आयो । त्यसैले यो निर्णय अमान्य छ ।’’ उहाँले भन्नुभयो ।
यस्तै, धनगढीको मोतिचोक डेरा गरी बस्ने एकल महिला अटो चालक ईश्वरी धामीले जोर बिजोर प्रणाली लागु गरिदा घाँटी च्यापे जस्तै महशुष भएको बताउनुभयो । “मलाई कमाएर दिने न मेरा श्रीमान् छन् । नत कोही अरू नै छन् । मैले कोठामा बसेर भाडा तिर्ने, बच्चालाई पढाउनु पर्ने छ । मलाई जोर बिजोर गरेर चलाइँदा घर खर्च नै चल्दैन । म जस्ता एकल महिलालाई घाटी च्यापे जस्तै भएको छ । उहाँले थप्दै भन्नुभयो, हामीलाई त घाटा त हुन्छ नै नगरवासी सम्पूर्ण यात्रु वर्ग लाई पनि अटो फेर्नु पर्दा भाडा महँगो र सास्ती पूर्ण यात्रा हुन्छ ।” उहाँले भन्नुभयो ।
तपाईँहरूलाई के भई दिए सहज र मान्य हुने थियो ? भन्ने प्रश्नको जवाफ दिँदै धामीले भन्नुभयो, “अटो जहाँ दर्ता भएको छ त्यहाँ मात्रै सञ्चालन गर्न पाउने व्यवस्था मिलाउनु पा¥यो समिति र सम्बन्धित निकायले ।”
त्यस्तै, धनगढी वडा नं. २ का अटो चालक हर्क ब. दयालले धनगढी उपमहानगर क्षेत्रको अवस्था र क्षमता अनुसारको अटो दर्ता गर्न दिनुपर्ने बताउनुभयो । “अटो स्वरुम, उप–महानगरपालिका, यातायात र ट्राफिक प्रहरी लगायतका सम्बन्धित निकायको समन्वयमा कति अटो आवश्यक पर्ने हो त्यही अनुसार वर्षमा दर्ता गर्न दिने गर्नुपर्छ । बरु नियम प्रक्रिया मिलाएर, दर्ता लाइसेन्स चेक जाँच गरिनुपर्छ ।”उहाँले भन्नुभयो ।
त्यस्तै, ’’नगरपालिकाले सुरुमा तिन शय, त्यस पश्चात् १ हजार २९० अटो दर्ता गर्न आदेश गरियो । तर त्यो लागु भएन यहाँ बर्दिया, कञ्चनपुर कता कता अटो चलिरहेका छन् यी अटो हरू दर्ता भएकै स्थानमा चलाउने व्यवस्था मिलाए स्वतः धनगढीको चाप कम हुन्छ ।’’ दयालले भन्नुभयो ।
यस्तै, नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य टेक ब. विकले रातो प्लेट भएका अटो सबैलाई कालो प्लेट बनाउनु पर्ने बताउनुभयो । उहाँले पनि बाहिर दर्ता भएका अटोहरू धनगढीमा चल्न दिनुले यो समस्या भएको बताउँदै सम्बन्धित निकायले कैलाली भित्र दर्ता भएका अटो मात्र सञ्चालन गरिदिए धनगढीको अटोको चाप स्वतः घट्ने बताउनुभयो ।
यसै गरी, अटो, टेम्पो तथा रिक्सा चालक संघका केन्द्रीय उपाध्यक्ष मीनराज जोशीले बजारमा ई–रिक्साको चाप बढी हुँदा यो अवस्थालाई व्यवस्थापन गर्नको निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको अनुरोध स्वीकार गर्दै धनगढीमा अटोको चाप व्यवस्थापन गर्नको निम्ति यो कदम चालेको बताउँदै आफूहरूले मजदुरलाई दुःख दिन नखोजेको दाबी गर्नुभयो । जोशीले अहिले कागज पत्र बिना सञ्चालन भइरहेका र लाइसेन्स नभएका व्यक्तिहरूले बढी विरोध गरेको समेत बताउनु भएको छ ।
“हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरको धनगढीमा अटोको चाप न्यूनीकरण गर्ने र ट्राफिक व्यवस्थापनमा सभ्य धनगढी बनाउने रणनीति अनुसार नै यो निर्णय स्वीकारेका हौ । मजदुरलाई दुःख दिने उद्देश्य हाम्रो पनि हैन । धनगढीमा कति अटो सञ्चालन छन् ? कहाँ कहाँ दर्ता भएका अटो धनगढीमा सञ्चालन भइरहेका छन् भनेर यकिन तथ्याङ्क सङ्कलन गर्न र तिनलाई दर्ता भए अनुरूप व्यवस्थापन गर्न सडकमै कागज पत्र चेकजाँच गर्दा जाम बढी हुने भएकोले जोर बिजोर गरी चेक जाँच गर्नुका साथै सबैले दर्ता अनुरूप सञ्चालन गरेका छन् कि छैनन् भनी पत्ता लगाउन सो कार्य गरेका हौँ ।” उहाँले भन्नुभयो ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षकले धनगढीमा अटो रिक्साको चाप बढेकोले जोर बिजोर प्रणाली लागु गरिएको बताउनुभयो । ‘धनगढीमा धेरै अटो रिक्सा सञ्चालन भइरहेका छन्, अटो रिक्सा समिति र चालकहरूसँग सहमति गर्दै जोर बिजोरमा अटो रिक्सा चलाउन थालेका हौँ । हामी निरन्तर सम्झाई बुझाई गर्ने कार्य जारी राख्छौँ एक दुइ दिन चुनौति हुन सक्छ पछि सजिलो भै हाल्छ । यसो गर्दा ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरेका छौँ ।” उहाँले भन्नुभयो ।
.gif)