कलौ अन्न गतो प्राणः अर्थात कलियुगको प्राण भनेकै अन्न हो । कलियुगमा मानजीवन केवल अन्नको भरमा मात्र बाँचेको हुन्छ भन्ने कुरा हाम्रा धर्मग्रन्थ एवम् पुर्खाहरुले बताउँदै आएका छन् । वायु, जल, र अन्न मानवजीवनका लागि नभइ नहुने कुरा भएकाले यिनीहरुको बारेमा अध्ययन हुनु पनि आवश्यक रहेको छ । हाम्रा पुर्खाहरुले भुगोल, धर्म, संस्कृति र मौस अनुसार कुन कुराको भोजन गर्ने भन्ने कुराको अध्ययन धेरै पहिलेदेखि नै हुँदै आएको पाइन्छ । मानव सभ्यताको सुरुवातदेखि नै भोजनका बारेमा अध्ययन हुँदै आएर को मानव जीवनमा घटेका घटनासँगै अन्नको उत्पादन र खेती पनि हुँदै आएको पाइन्छ । जीवनभोगाइको अनुभवका आधारमा जंगली युगदेखि नै मानिसले आफ्नो आहार विषयमा सेंदनशील हुँदै आएको पाइन्छ । मांसहार, फलाहार, कन्दमुल आदि हुँदै मानिस अन्नको युगमा प्रवेश गर्दा जौँलाई संसारकै पुरानो अन्नका रुपमा ग्रहण गर्दै आएको देखिन्छ । हाम्रा प्राचीन वैदिक तथा धार्मिक ग्रन्थहरुमा पनि जौलाई विशेष महत्वका साथ उल्लेख गरेको पाइन्छ । यसबाट के भनन सकिन्छ भने सुरुमा हाम्रा पुर्खाहरुले जौँ र जौँबाट बनेका परिकारहरुबाट अन्नको सुरुवात गरेको हुनुपर्दछ । त्यसपछि समय, भूगोल र मौसम अनुसार अन्य अन्नहरुको पनि सुरुवात भएको मानिन्छ । यसरी कालान्तरका विभिनन स्वादहरुको ज्ञान र सामग्रीको उपलव्धताका आधारमा तिनी अन्नहरुबाट विभिन्न परिकारहरु बन्दै गए । मानिसले विभिन्न किसिमका अन्नहरुको उत्पादन गर्दै गएपछि तिनीहरुको आहारबाट शरीरमा हुने प्रतिक्रियाका आधारमा कुन समयमा कस्तो अन्न खाने ?, कुन भूगोलमा कस्तो अन्न उत्पादन गर्ने र कुन मौसममा खाने भनने कुराको पनि ज्ञान हुँदै आएको मानिन्छ । यसरी समय, भूगोल र उपलब्धताका आधारमा विभिनन समुदायका आफ्ना छुट्टै मौलिक परिकारहरु बन्दै गए । तिनै परिकारहरु कालान्तरमा गएर संस्कृतिका अभिन्न अंगका रुपमा पनि परिचित हुँदै गए ।
डोट्याली लोक समुदायको पनि आफ्नो छुट्टै मौलिकता रहेको पनिइन्छ । जसरी भाषा, कला, साहितय, संस्कृति, पेशा, व्यवशाय आदिमा यस समुदायको छुट्टै मौलिकता झल्किन्छ त्यसै गरी खानपिनमापनि यस समुदायको आफ्नो छुट्टै मौलिकता रहेको पाइन्छ । यस क्षेत्रको भूगोल अनुसार परम्परागत अन्नहरुमा विशेष गरी जौँ, गौँ, कोदो, फापर, मादुरो, कौन, धान आदिको खेती गरिन्थ्यो भने दालहरुमा भट्मास (सेता, काला, नैपल्या) लिङड्या, धिङड्या, मास, सोट्टा, गहत, गुरस, कलौँ आदि फलाउने गर्दथे । यिनीहरुमा पनि परम्परागत हिसाबले हेर्ने हो भने गहत गत सबैभन्दा सबैभन्दा बढी फलाउने गरेको पाइन्छ। यस क्षेत्रमा प्रचलित किस्साहरुमा पनि जै का चेला उइका गतका रेला भन्ने उखान पनि रहेको छ । त्यतिबेला इजर खनने र पाको जमिनमा गहत बोएर प्रसस्त दाल उत्पादन गरिने भएकाले यस्तो भनिएको हो । गहतबाट बन्ने मुख्य परिकारमा गत्या फाँणो र डुब्का हुन् । सुदूरपश्चिमको प्राचीन र लोकप्रिय परिकारमा डुब्का आउने गर्दछन् । यसरी विभिन्न किसिमका अन्नहरुको उत्पादनपछि तिनीहरका परिकारका रुपमा विभिन्न किसिमका व्यवञ्जन बनाउन थालियो । यस क्षेत्रका मुख्य व्यञ्जनहरुमा जौँको रोटी, जौँको भात, फाणो, भट्या, ढिणो, मकैको रोटी, कोदाको रोटी गहुँको रोटी, माणा, सेल, प्वा, पुरी, रोट, अखाडि,जउलो, लेट्या, मैरी, बटुक, हेल्वा, कप्क्या, खिचडी, खिर आदि पर्दछन् । यस्ता परिकारहरु विशेष गरेर मौसम अनुसार खाने गरिन्थ्यो । विशेष गरी गर्मी मौसममा रोटी, भात, छाँचबा बनेका परिकार र कम चिल्लो भएका परिकार खाइन्थ्यो भने चिर्सो मौसममा हेलुवा, खिचडी, माणा, सेल आदि परिकार खाने गरिन्थ्यो । हाम्रा चाँडपर्वहरुमा पनि यसै अनुसार विशेष परिकारहरु बनाइने गरिन्थ्यो उदाहरणका लागि माघ महिनाको नरहरी सङ्क्रान्तिमा माणा र माघ महिनाभरी बहमणलाई खिचडी खुवाउने परम्परा समेत रहेको छ। यसबाट के प्रष्ट हुन्छ भने कुन समयमा कुन कुरा खाने भन्ने कुरा हाम्रा पुर्खाहरले राम्ररी अध्ययन गरेको पाइन्छ । त्यसै गरी समय र उपलब्धताका आधारमा पनि खानपिन खाने गरिन्छ । विशेष गरी असोज महिनामा धान काट्ने भएकाले यस महिना सहजै धान उपलब्ध हुने हुनाले असोजको सोह्र श्राद्धमा भात खुवाउने परमपरा रहेको छ । यसैका आधारमा सोह्र श्राद्धको नामाकरण नै भत्या श्राद्ध भनेर गरिएको पाइन्छ । रातीको समयमा यस क्षेत्रमा रोट ितथा दरिलो खाना खाने र दिउँसोको समयमा दालभात आदि खाने प्रचलन रहेको छ। राती भात खाएपछि खाँखामा सुजन आउँछ भन्ने कुराले खानपिन र स्वास्थ्यको सम्बन्धलाई पनि राम्रोसँग अध्ययन गरेको पाइन्छ । त्यसैगरी नास्ताका रुपमा खाजा, सिरौला, पिञ्जरी, बाडी, गेडा,तिलगुड आदि खाने गरेको पाइन्छ । यस समुदायमा उमेरका आधारमा खानपिनको पनि विशेष अध्ययन गरेको पाइन्छ। विशेष गरी बालकहरुको पाचन प्रणली कमजोर हुने भएकाले उनीहरुलाई सजिलै पचाउन सक्ने गरी लेट्या, जाउलो आदि खुवाउने गरेको पाइन्छ भने बृद्धहरुका लागि पनि बढीजसो फाणो, हेल्वा आदि कुरालाई विशेष महत्वका साथ उपयोग गर्दै आएको पाइन्छ । त्यसै गरी युवाहरुका लागि जौँको रोटी, कोदेको रोटी लगायत ताकत दिनेखालका खानाहरु बनाउने गरेको पाइन्छ । मानिसलाई विभिनन किसिमका रोगहर लाग्दा पनि पथका रुपमा खानेकुरा छुट्याइएको पाइन्छ । पत्थरी भए गहतको दाल, सुत्केरीलाई प्रोटिन तथा चिल्लो पदार्थ युक्त खाना, हलुवा, अन्य बिमारीहरुलाई खिचडी आदि रोगको प्रकृति अनुसारको खाना खुवाइने गरेको पाइन्छ । त्यसैगरी यस क्षेत्रमा अन्नलाई पकाउन प्रयोग गरिने तरल पदार्थको आधारमा पनि छुट्टाछुट्टै परिकारहरु रहेको पाइन्छ । भात, ढिणो, खिचडी आदि पानीमा पाइन्छ भने लौन, सेल, कप्क्या घिउँ अथवा तेलमा पकाइने गरिन्छ । त्यसै गरी खिर र लिटोलाई दुधमा पकाइन्छ भने मैरी, फाणो आदि छाँचमा पकाइने गरिन्छ । छाँचमा विभिन्न परकार पाउने परम्पराको अध्ययन गर्दा सायद विश्वमै मौलिक र प्राचीन परम्पराको रुपमा देखा पर्दछ । यस क्षेत्रमा तरकारी पनि छाँच हालेर पकाउने गरिन्छ । त्यसैगरी उखुको रसमा पनि खाना पकाउने प्रचलन गरेको छ । उखुको रसमा विशेष गरी रस्वा भात, हलुवा र रोटी पनि पकाउने गरिन्छ । यसरी विभिन्न तरल पदार्थको प्रयोग गरेर फरकफरक परिकारहरु बनाउनमा डोट्याली लोक समुदाय अग्रपङ्तिमा आउने गर्दछ ।
डोट्याली लोक समुदायमा प्रचलित परम्परागत परिकारहरुको अध्ययन गर्ने हो भने वैज्ञानिक र स्वास्थ्यबद्र्धक एवम् साकाहारी भोजनहरुको प्रयोग हुँदै आएको पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने हाम्रा पुर्खाहरु आहारव्यवहारका क्रममा अत्यन्तै सचेत थिए । समग्रमा भन्नुपर्दा डोट्याली लोक सुमदायमा समय, परिस्थिति, उपलब्धता आदिका आधारमा बन्ने गरेका थुप्रै मौलिक परिकारहरु रहेका छन् । यिनीहरुको अझ अध्ययन गरेर हाम्रो स्वास्थ्यका लागि अत्यन्तै लाभदाय िर हाम्रो मौलिक पहिचान जोगाउने र परम्परालाई चिनाउने परिकारहरु प्रयोग गरेर लाभ लिन सक्नु पर्दछ । यस क्षेत्रमा रहेका होटेलहरुमा पनि यस्तै परिकारहरु पकाएर आगन्तुक पर्यटकहरुलाई आकर्ष गर्न सकिनछ । तयसै गरी यस्ता परिकारहरु स्थानीय स्तरमै उत्पादन हुने भएकाले स्वदेशी मुद्रा बाहिर नजाने र हाम्रा स्थानीय परकारहरु बेचेर मनग्य आम्दानी गरी देशको अर्थतन्त्रमा पनि टेवा पुगाउन सकिन्छ ।
.gif)