बाबा आमा सित प्रकृतिको काखमा जन्मिएको
हो यो चोला समय गतिमा दौडिदै हुर्किएको
आगो पानी गगन धरणी बाफमा के पकायो
ए साथी हो भनन कसरी मूर्तिमा प्राण आयो
उठ्ने बस्ने अभिनयकला नाट्यका पात्र हामी
गर्नै पर्ने विचरण यहाँ भाग्यको हात थामी
जे लेखिन्छन् कुशलकविका लेखनीका कला हुन्
सारा मान्छे यस धरणिका मालती मङ्गले हुन्
आमा बाबा पति र ससुरा पुत्र आफन्त मान्छौँ
गौरी जस्तै समय सकिए चट्ट छोडेर जान्छौँ
चुल्ठो खोल्ने मनसुव कहाँ हो र राजेश्वरीको
मानौँ इच्छा कतिपनि नभै दौडिने बाध्यता हो
हामी गोटी समय विधिका चालमा चालिएका
छुट्टा छुट्टै मरिच मसला दालमा हालिएका
डुल्दा डुल्दै पथिक जनमा प्रेम सद्भाव भर्दा
यात्रा हाम्रो सरस सजिलो हुन्छ जङ्घार तर्दा।
.gif)