वर्तमान नेपालको सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्यभित्र परम्परादेखि बोलिदै आइरहेको भाषा नै डोट्याली भाषा हो । यो भाषा बढीजासो मौखिक रुपमै जिवित रहँदै आए पनि वर्तमानसम्म आइपुग्दा लेख्य भाषाका रुपमा पनि विकसित हुँदै आइरहेको छ । उसो त नेपाली भाषाकी जननीका रुपमा हेर्ने हो भने त नेपाली भाषाको इतिहास नै यस भाषाको इतिहास पनि हो भन्न सकिन्छ तर कालान्तरमा नेपाली भाषाको विकास भइसकेपछि यस भाषाभन्दा केही फरक भने अवश्य देखिन्छ । डोट्याली भाषा मौखिक रुपमा प्रयोग व्यवहारमा रहँदै आइरहदा यसमा परिवर्तन धेरै भएन र फलस्वरुप पुरानो लवजमा नै यो भाषा जीवित हरेको पाइन्छ । विगतमा केही विशेष प्रयोजनका लागि डोट्याली भाषा लेखिएको भए पनि धेरै कुरामा भने मौखिक रुपमै अगाडि बढेको पाइन्छ । विशेष गरी डोट्याली भाषाको लेखनको इतिहासलाई हेर्ने हो भने यस क्षेत्रका पुराना पुराना हस्तलिखित ग्रन्थहरुको अध्ययन गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा विशेष गरी ज्योतिष शास्त्र सम्बन्धी ग्रन्थ, तन्त्रमन्त्र सम्बन्धी ग्रन्थ आदिमा डोट्याली भाषाको पुरानो लोखोट पाइन्छ । यस क्षेत्रमा विशेष गरी ज्योतिषशास्त्र अन्तर्गत पात्रो बनाउने गणित, जन्मपत्रिका बनाउने गणित, मुहुर्त चिन्तामणी, पोथी, जोशी हेर्ने आदि प्राचीन हस्तलिखित ग्रन्थहरु पाइन्छन् भने त्यसै गरी विभिन्न तन्त्रमन्त्रहरु तथा वैद्यहरुले उपचारका लागि लेखेका केही हस्तलिखित ग्रन्थहरुमा डोट्याली भाषाको प्रयोग गरिएको पाइन्छ । यस्तै विभिन्न संस्कृतका महत्वपूर्ण ग्रन्थहरु सम्झिन सजिलो होस भन्नका लागि डोट्यालीमा अनुवाद गरिएका केही ग्रन्थहरु पनि यस क्षेत्रमा पाइने गर्दछन् । डोट्याली भाषाको लेखनमा महत्वपूर्ण भूमिका खेल्ने प्राचीन हस्तलिखित ग्रन्थहरुलाई यसरी देखाउन सकिन्छ :
१. ज्योतिष शास्त्रमा डोट्याली भाषा लेखोट
संस्कृत वाङ्मय अन्तर्गत ज्यातिष विद्या अत्यन्तै पुरानो र समृद्ध विधाका रुपमा लिइन्छ । मानिसहरुले परापूर्व कालदेखि नै ज्योतिष शास्त्रको प्रयोग गर्दै आएको पाइन्छ । मानव जीवनमा विभिनन ग्रहहरुको प्रभाव, शुभ अशुभ साइत, भविष्यवाणी आदिका सन्दर्भमा ज्योतिषशास्त्र प्रयोग व्यवहारमा आउँदै गरेको पाइन्छ । यही क्रममा डोट्याली लोक समुदायमा पनि ज्योतिष विद्याको प्रभाव अत्यधिक रुपमा भएको पाइन्छ । यस क्षेत्रमा पात्रो बनाउन, जन्मपत्रिका बनाउन, विभिन्न किसिमका साइतहरु हेर्न, ग्रहगतिका आधारमा विभिन्न शुभअशुभ हेर्न, विभिन्न किसिमका भविष्यमा हुनसक्ने सम्भावित घटनाहरुको बारेमा जानकारी लिन, ग्रह तथा अन्य विविभ कारणले मानव जीवनमा हुने समस्याहरु पत्ता लगाउन ज्योतिष शास्त्रको प्रयोग हुँदै आइरहेको पाइन्छ । यस्ता किसिमका ज्ञानका लागि तत्कालीन समयमा संस्कृत भाषाको प्रयोग मात्र हुने भएकाले यी विद्याहरु सर्वसाधारणका पहुँचभन्दा टाढा हुने गर्दथे । तिनीहरुलाई प्रयोग व्यवहारमा ल्याउने क्रममा यस क्षेत्रका ज्यातिषहरुले आफूले बुझ्न सजिलो हुने र पुस्तान्तरणका लागि डोट्याली भाषामा हस्तलिखित रुपमा ज्यातिषशास्त्रका पुस्तकहरु लेखेको पाइन्छ । यसमा विशेष गरी ज्योतिष गणित, फलादेश, मुहुर्तचिन्तामणी, पोथी, आदि विभिन्न आवश्यक विषयवस्तु डोट्याली भाषामा लेखेको पाइन्छ । ज्यातिष सम्बन्धी गणितका सुत्रहरु, जोशी हेर्ने सुत्रहरु, कण्ठ गर्न सजिलाका लागि डोट्याली भाषामा यसको लेखन गरिएको पाइन्छ । उदाहरणको लागि जन्मपत्रिका बनाउन लग्नखाँडी गुन्ने तरिकालाई यसरी लेखेको पाइन्छ :
जो लग्न हो उसैको खण्ड राखनु, तइ गया दिनले गुणनु, तिस भाग हालनु, आयाको लग्न बटी घटाउनु, साटी भाग हालनु, आयाको फल घडी हो, शेष पाला हो भणि जाणनु ।
यसरी ज्योतिष शास्त्रका हस्तलिखित ग्रन्थहरुमा डोटेली भाषाको पुरानो लेखोट पाइन्छ । यस्ता ग्रन्थहरु कति प्रचीन हुन भन्ने कुराको अझै अध्ययन हुन सकेको नभए पनि पृष्ठभूमिका रुपमा यस्ता महत्वपूर्ण ग्रन्थहरुलाई लिन सकिन्छ । डोटेली भाषा लेखनको विकासमा यस्ता ज्योतिष शास्त्र सम्बन्धी हस्तलिखित ग्रन्थहरुको विशेष भूमिका रहेको पाइन्छ ।
२. तन्त्रमन्त्रमा डोट्याली भाषाको लेखोट
मानव जीवनमा आइपर्ने विभिन्न समस्याहरुको समाधानका लागि तन्त्रमन्त्रको प्रयोग पनि परापूर्व कालदेखि नै हुँदै आएको पाइन्छ । यस्ता तन्त्रमन्त्रहरु परम्परागत चिकित्सामा बढी प्रयोग भएको पाइन्छ । डोट्याली लोक समुदायमा पनि मानिसलाई विभिन्न किसिमका समस्याहरु पर्दा तथा रोग लाग्दा तन्त्रमन्त्रहरुको प्रयोग हुँदै आएको पाइन्छ । डोट्याली लोक समुदायमा मानिस तथा जनावर दुबैका लागि तन्त्रमन्त्रहरुको प्रयोग हुँदै आएको पाइन्छ । मानिसलाई प्यारालाइसिस (झाड्डु) हुँदा, जुका पर्दा, तालु पर्दा, अजिर्ण हुँदा, विभिनन अंगको दुखाइ, पेलिया, शर्प आदि विषालु किराहरुले टोक्दा, छलत्रास, तथा झप्याटो लाग्दा, विभिन्न किसिमका जादुटुना आदिमा तन्त्रमन्त्रको प्रयोग गरिदै आएको पाइन्छ भने जनावरहरुलाई डाक्सी बोक्सी लाग्दा, दुध नलिदा, ताडो पर्दा, विषालु किराहरुले टोक्दा आदिमा तन्त्रमन्त्रको प्रयोग गरिदै आएको पाइन्छ । यस्ता तन्त्रमन्त्रहरु पनि विशेष गरेर जान्ने मान्छे तथा वैद्यहरुले पुस्तान्तरणको प्रयोजनका लागि हस्तलिखित रुपमा लेखेर राखेको पाइन्छ । यस्ता प्रयोगका लागि लेखिएका ग्रन्थहरुमा डोट्याली भाषाको प्रयोगलाई बभुति मन्त्रलाई उदाहरणको रुपमा यसरी देखाउन सकिन्छ :
गुरुवा गुरुवा गुरु चरणकि भयो नमः, गुरु देप्ताकि भ्यो नमः, गुरुकि शक्ति मेरि भक्ति फुर मन्त्रो ईश्वरो उवाच
विभुति माता विभुति पिता, तिन लोककि तारणि
कैले आन्यो, कैलो छान्यो
बह्माजी ले आन्यो, विष्णुजीले छान्यो, शिवजीले बभुति बनायो
उल्टन्ति काया, पल्टन्ति माया
मरिच मारिच स्वाहा
भेद भ्यो
यसरी विभिन्न किसिमका तन्त्रमन्त्रहरु डोट्याली भाषामा लेखिएका पाइन्छन् । डोट्याली भाषाको लेखनमा यस्ता परम्परागत तन्त्रमन्त्रहरुको पनि विशेष महत्व रहेको पाइन्छ ।
डोट्याली भाषाको लेखनमा यी बाहेक लोक चिकित्सासँग सम्बन्धी विषयवस्तुहरुको लेखन पनि भएको पाइन्छ । विभिन्न रोगहरु पत्ता लगाउने विधि, रोगका लक्षण, त्यसमा प्रयोग हुने जडिबुटी, उपचार पद्दति, औषधिको मात्र आदि महत्वपूर्ण विषयवस्तुहरुको लेखन पनि डोट्याली भाषामा हुँदै आएको पाइन्छ । त्यसै गरी विभिन्न अर्ति उपदेश, इतिहासका मुख्य कुरा, तथा देवीदेवताका प्राथनाहरु पनि धेरै पहिलेदेखि डोट्याली भाषामा लेखिदै आएको पाइन्छ । डोट्याली भाषाको इतिहास तथा यसको लेखनको विकासका सन्दर्भमा अध्ययन गर्दा यस्ता हुकाहरुको विशेष अध्ययन हुनु जरुरी छ भने अर्कोतिर हाम्रा पुर्खाहरुले सिर्जना गरेको तथा खोजी गरेको ज्ञानरासी र डोट्याली भाषाका महत्वपूर्ण ग्रन्थहरुको संरक्षण र सम्बद्र्धनका लागि समेत ध्यान दिनु हामी सबैको कर्तव्य हुन आउँछ । समग्रमा भन्नुपर्दा डोट्याली भाषाको लेखनमा यस्ता प्राचीन हस्तलिखित ग्रन्थहरुको विशेष भूमिका रहेको पाइन्छ ।
.gif)