सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकसमुदायमा ग्रहण र लोकसाहित्यको प्रस्तुति


बुधबार, कात्तिक २३ २०७९
  • 999
    Shares

  • images
    images
    डोट्याली लोकसमुदायमा ग्रहण र लोकसाहित्यको प्रस्तुति

    ग्रहण भनेको सूर्य अथवा चन्द्रमामा देखिने छाया हो । आकाशीय पिण्ड सबैमा एक अर्काको छाया पर्ने भए पनि पृथ्वीबाट नजिक रहेका सूर्य र चन्द्रमा ग्रहमा परेको छाया मात्र प्रत्यक्ष रुपमा देखिने भएकाले सूर्य ग्रहण र चन्द्रग्रहण भनेर दुईओटा ग्रहणहरुको ज्योतिषशास्त्र तथा विज्ञानले चर्चा गर्दै आएको पाइन्छ । पृथ्वीको छाया चन्द्रमामा देखिनु चन्द्रग्रहण हो भने पृथ्वी र सूर्यबीच चन्द्रमा छाया देखिने स्थिति सूर्य ग्रहण हो । सूर्णग्रहण औशीमा लाग्दछ भने चन्द्रग्रहण पूर्णीमामा लाग्ने गर्दछ । ऋग्वेद लगायतका वैदिक ग्रन्थ तथा ज्योषिशास्त्रहरुमा ग्रहणलाई पिण्डहरुको छायाका रुपमा उल्लेख गरेको छ भने केही पौराणिक ग्रन्थ तथा लोकमान्यताहरुमा राहुले सूर्य तथा चन्द्रलाई खान खोजेको अर्थमा व्याख्या गरिएको पाइन्छ । पौराणिक ग्रन्थ तथा लोकमान्यता भन्दा पनि ज्योतिष तथा विज्ञान नै शर्वोपरी भएकाले ग्रहण आकाशीय पिण्डहरुको एकअर्का पिण्डहरुमा पर्ने छाया नै हो भन्ने कुरामा दुईमत छैन । वैदिककालीन ग्रन्थ तथा ज्योषिशास्त्रले ग्रहणलाई एक पवित्र दिनका रुपमा हेर्दै यस अवस्थामा मन्त्र जप तथा हवनादी कृत्यहरु गर्नुलाई शुभ मान्दछ भने लोकाचारले ग्रहणको दोष लाग्ने हुनाले ग्रहणको सूतक बार्ने कुरामा जोड दिन्छ । यसरी हेर्दा ग्रहणका बारेमा विभिन्न लोमसमुदायहरुमा आफ्नै लोक मान्यता, विश्वास र त्यस अवस्थामा गरिने क्रियाकलापहरु भिन्न भिन्न रहेको पाइन्छ । 
    ग्रहणसम्बन्धी डोट्याली लोक समुदायमा पनि आफ्नो छुट्टै लोकमान्यता रहेको पाइन्छ । डोट्याली लोकसमुदायमा ग्रहणलाई रवा, नवा लगायत स्थानगत भाषिक भेदका आधारमा फरक फरक नामले चिन्ने गरिन्छ । यस लोकसमुदायमा रहेको परम्परागत लोकमान्यता तथा लोकरुढी अनुसार चाल्लो र हलिउणोको बैकर नदिएको हुनाले रवाले गाईको हाड (सापडो) समातेर भगवान (सूर्य र चन्द्र) लाई छुन जाने भन्ने मान्यता रहीआएको पाइन्छ । यस कुराको पुष्टि यस लोक समुदायमा ग्रहण लागेको बेलामा जोरजोरले शंख फुक्दै, भाँडाकुँडा बजाउँदै छाड रवा÷नवा छाड चाल्लि हलिउणीको बैकर दिउँलो छाड रवा छाड भन्ने चलनले गर्दछ । यो प्रमाणिक कुरा नभएर यसलाई केवल लोकरुढीका रुपमा लिन सकिन्छ । ग्रहण लाग्दा यस लोकसमुदायमा शंख फुक्ने, हवन गर्ने प्रचलन पनि रहेको छ । परम्परागत मान्यता अनुसार ग्रहणको सूतक बार्ने प्रचलन यस क्षेत्रमा पनि रहेको पाइन्छ । ग्रहण लाग्दा, खाना नखाने तथा ग्रहणको सूतक लाग्नु अघि नै गोरस तथा पानीका भाँडाकुँडाहरुमा दुबो तथा तुलसीका पातहरु राख्ने गरिन्छ । ग्रहण समाप्ति पश्चात् खाना स्नानशुद्धि पछि भोजन गर्ने गरिन्छ । त्यसै गरी यस क्षेत्रका स्थानीय देवीदेवताको पूजा पनि यो दिन नलाग्ने र अर्को दिन पूजा लगाउनु परे पनि ग्रहण दोषको शुद्धिका लागि गौदान गरेर मात्र गाथ पूजन गर्ने प्रचलन रहेको पाइन्छ । 
    यस लोकसमुदायमा ग्रहण लागेको बेला लोकसाहित्यको प्रस्तुति पनि गर्ने गरिन्छ । विशेष गरी महिलाहरुले ग्रहण लागेको बेलामा फाग गाउने प्रचलन यस लोकसमुदायमा रहेको पाइन्छ । सूर्य तथा चन्द्रमालाई भगवान मान्दै आएको हिन्दु धर्म अनुरुप यस लोक समुदायले पनि सूर्य चन्द्रलाई भगवान मान्दै आएको पाइन्छ । ग्रहणको छायाले सूर्यचन्द्रलाई ढाक्दा भगवानलाई आपतकाल लागेको महशुष गर्दे यस लोकसमुदायले पनि भगवानको दुःखमा दुःख महशुष गर्ने लोकमान्यता रहेको पाइन्छ । यस अवस्थामा रवालाई भगवानको शरीरबाट छोडिदिनका लागि आग्रह गर्दै फाग गाउने प्रचलन यस लोकसमुदायमा रहेको छ । यस अवस्थामा विशेष गरी महिलाहरुले फाग गाउने र पुरुषहरुले शंख फुक्ने तथा हवनादि गर्ने प्रचलन रहेको पाइन्छ । यस अवस्थामा गाइने फागमा रवाले सूर्य अथवा चन्द्र भगवानलाई ढाक्दा दुःख प्रकट गर्दै छोडिदिन आग्रह गर्नुका साथै ग्रहण लाग्दाको समयमा मानिस तथा विशेष गरी नारीहरुलाई पर्ने समस्याकाहरुलाई फागका रुपमा प्रस्तुत गरिएको पाइन्छ ।  डोट्याली लोकसमुदायमा सूर्य अथवा चन्द्रमालाई भगवान मान्दै उहाँको गाथ छोडिदिन यसरी अनुरोध गरेको पाइन्छ ः
    छाड रवा छाड रवा चन्नरमाइको गाथ
    तमु बिजाइ भगवान भयो अन्धकार
    यसरी चन्द्र तथा सूर्यको गाथ ढाकिदा अन्धकार छाएको र त्यसले पृथ्वीलोकमा परेका बाधाहरु र महलिाहरुले भोग्नु परेका पीडाहरुलाई फागमा यसरी प्रस्तुत गरिएको पाइन्छ ः
    पानी नवा गइथिउ मुइत घडो फोडि़ लियो
    तमु बिजाइ भगवान भयो अन्धकार
    छाड रवा छाड रवा चन्नरमाइको गाथ
    यसरी महिलाहरुले  गोठपात गर्दा , पानी भर्दा , घाँस काट्दा, घरधन्दा एवम् मेलोपात गर्दा भएको असहजतालाई  फागका धाध्यमले  प्रस्तुत गर्दै रवालाई छोडिदिन आग्रह गरेको पाइन्छ । ग्रहण लाग्दाको अन्धकारले दुध दुहुन जाँदा दुध पोखिनु, घाँस काटिरहेको बेला हात काटिनु जस्ता विविध समस्याहरु पर्ने कुरालाई डोट्याली लोक साहित्य अन्तर्गत ग्रहण लाग्दाको फागमा प्रस्तुत गरिएको पाइन्छ ।  चन्द्र ग्रहणचन्द्र ग्रहणयस फागबाट तत्काली समयमा सूर्य चन्द्र मात्रै उज्यालोका स्रोत हुनु र अन्य वैकल्पिक उज्यालोको व्यवस्था नहुँदा परेको समस्यालाई समेत उजागर गरेको पाइन्छ । 
    डोट्याली लोकसमुदायमा ग्रहण लाग्दा चाल्लो र हलिउणोको बैकर नदिदा  रवाले सूर्य चन्द्रलाई अपवित्र गर्न हाडले छुन जाने, रवाले निल्ने भन्ने जस्ता रुढी मान्यता भए पनि यस अवस्थामा प्रस्तुत गरिने फागहरुमा भने लोकसमुदायका नारीहरुले यस अवस्थामा भोग्नुपरेका पीडा, अन्धाकार प्रतिको भय तथा देवीदेवता प्रति आस्था र असहज परिस्थिति प्रतिको पीडा महशुष  लगायतका कुराहरुले यस लोकसमुदायको चित्रण गरेको पाइन्छ । डोट्याली लोकसमुदायमा हरेक समय र परिस्थिति, सुख र दुःख, सबै कुराका लागि लोक साहित्य सिर्जना भएको पाइन्छ । खगोलीय घटनाहरुका सन्दर्भमा समेत लोक साहित्यको सिर्जना गरी त्यसका माध्यमले समाजको चित्रण गर्न सक्नु यस लोकसमुदायको विशेषता हो । फाग स्रोत:पार्वती भट्ट 

     

     


  • सम्बन्धित विषय:

  • # ग्रहण
  • # चन्द्रग्रहण
  • # सूर्य ग्रहण


  • प्रतिक्रिया दिनुहोस