आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

डोट्याली चित्रकला


आइतबार, फागुन ७ २०७९
  • 768
    Shares

  • images
    images
    डोट्याली चित्रकला

    नेपालको सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्य प्राकृतिक सुन्दरताले भरीपूर्ण छ । बढीजसो पहाडी भुगोल भएको यस क्षेत्रको उत्तरपट्टी सुन्दर हिमशृङ्खला र दक्षिणपट्टी तराई रहेको छ । प्रायःजसो हिन्दुहरुको वासस्थान रहेको यस क्षेत्रमा विभिन्न जातजातीहरुका मानिसहरु बसोबास गर्दछन् । यहाँ पहाडी भुभागमा डोट्याली तथा तराईमा चौधरी भाषी समुदाय रहेको छ । यहाँ विशेष गरी डोट्याली, सौका तथा चौधरी संस्कृति रहेको पाइन्छ । तराईका जिल्लाहरुमा भने मिश्रित संस्कृति रहेको पाइन्छ । यो क्षेत्र भाषा, कला, साहित्य, संस्कृतिमा अत्यन्तै समृद्ध रहेको छ । यिनै कुराहरुले सुदूरपश्चिमलाई समृद्ध बनाउनुका साथै मौलिक पहिचान पनि दिएको छ । यस्तै विभिन्न लोक सम्पत्तीहरु मध्ये डोट्याली चित्रकला पनि यस क्षेत्रको मौलिक पहिचान झल्काउने लोककला हो ।     
    यस क्षेत्रमा विशेष गरी पुराना पुराना ग्रन्थ, जन्मपत्रिका, तथा जन्मदेखि मृत्युप्रयन्तका विभिन्न लोक संस्कारहरुमा यहाँको मौलिक चित्रकला देख्न सकिन्छ । यस्ता चित्रहरु ग्रन्थ तथा घरका भित्ताहरुमा कोर्ने गरिन्छ । पहिले पहिले स्थानीय स्तरमै कागज बनाइ तिनै कागजहरुमा चित्र बनाउने काम गरिन्थ्यो । कागज बनाउनका लागि विशेष गरी यहाँका वनजङ्गलमा पाइने बडुवा नामक वनस्पतीको प्रयोग गरिन्थ्यो  । विशेष गरी यस्ता कागज बनाउने काम ज्योतिष तथा ब्रहमणहरुले गर्दथे । बडुवाको बाहिरपट्टीको लोता निकालेर त्यसलाई ससाना टुक्रा पारी काटिन्छ । काटिसकेपछि त्यसलाई राम्रोसँग पकाइन्छ । पकाएपछि सुकाएपछि त्यसलाई मसिनो पार्न कुटिन्छ । कुटिसकेको बडुवालाई फेरी सफा पानीमा पकाएर घोल बनाइन्छ । त्यसपछि  कागज बनाउने साँचोमा पानी छिर्ने पातलो कपडा तन्काएर बिछाइन्छ । उक्त कपडामा उक्त घोललाई बराबर पारी खन्याइन्छ । त्यसमा भएको पानी निस्केपछि त्यसमा डाढा लेपको पत्र बन्दछ । राम्ररी सुकेपछि बिस्तारै कपडाबाट बाहिर निकाली भातको माड लगाएर पुनः कपडाभित्र राखी सुकाइन्थ्यो । यसरी सुकेपछि शंख अथवा चिफ्लो ढुङ्गाले घोट्ने गरिन्थ्यो । यसरी घोट्दा घोट्दा कागज मसिनो लेख्नलायक भएपछि त्यसलाई आवश्यकता अनुसारको आकारमा काटेर त्यसमा लेख्ने तथा चित्र बनाउने काम गरिन्थ्यो । कागजलाई पछिसम्म राख्न र किराले खानबाट जोगाउन हरिताल नामक पहेलो रङको विस लगाइन्थ्यो । यसरी बनाएको कागज धेरै बलियो हुने गर्दथ्यो । यस कागजमा लेख्ने मसी पनि स्थानीय स्तरमै तयार पार्ने गरिन्थ्यो । कटुस तथा आमका पातहरु पकाएर कालो मसी बनाइन्थ्यो भने लालीगुँरासका पात तथा हल्दीमा स्वाग आदि विभिन्न प्राकृतिक औषधी राखी रातो रङ बनाइन्थ्यो । त्यसै गरी किर्मडाको बोक्रा र जरा कुटेर पकाइ त्यसबाट पहेलो मसी बनाउने गरिन्थ्यो । लेख्न तथा चित्र कोर्न निङालोका कलमहरु बनाउने गरिन्थ्यो । 
    यस क्षेत्रमा विशेष गरी पोथी आदि विभिन्न ग्रन्थहरुमा चित्र बनाउने काम गरिन्थ्यो । त्यसै गरी जन्मपत्रिका तथा विभिन्न हस्तलिखित पुस्तकहरुमा पनि चित्र कोर्ने गरिन्थ्यो । त्यसै गरी नागपञ्चमीमा नागदेवताका चित्रहरु पनि हातले नै बनाउने गरिन्थ्यो । पोथीमा देवीदेवता, राक्षस, विभिन्न जनावर तथा रुखबिरुवाहरुका चित्रहरु बनाइन्थे भने जन्मपत्रिकामा कुणेलो, चक्र तथा विभिन्न देवीदेवताका चित्रहरु कोर्ने गरिन्थ्यो । त्यसैगरी विभिन्न संस्कारहरुमा चामलको पिठोद्वारा बनाइने वेदीमा पनि यहाँको मौलिक चित्रकला प्रयोग हुँदै आएको पाइन्छ । विभिन्न शुभसंस्कारहरुमा घरका भित्ताहरुमा चामलको पिठोले विभिन्न देवीदेवता तथा वनस्पतिहरुका चित्र बनाउने प्रचलन पनि यस क्षेत्रमा रहेको पाइन्छ । यस्ता त्रिहरुलाई स्थानीय भाषामा जिउँति भनिन्छ । जिउँति भनेको विशेष गरी मांगलिक अवसरमा घरका भित्ताहरुमा चामलको पिठोले बनाइने चित्र हुन् । त्यसैगरी दीपावली तथा नयाँ वर्षको अवसरमा घरका मूल ढोकाहरुमा कमेरोले विभिन्न कलाकृति प्रचलन पनि यस क्षेत्रमा रहेको छ । यस्ता चित्रहरु कमेरोको घोलबाट बनाउने गरिन्छन् । 
    यस क्षेत्रमा बनाइने चित्रहरु कलाका दृष्टिले मात्रै नभएर धार्मिक, सांस्कृतिक तथा ज्योतिषीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा ग्रह तथा शुभ अशुभ हेर्नका लागि पाथी गेडा हाल्ने प्रचलन थियो । पोथीगेडा हाल्नका लागि विभिन्न देवीदेवता, राक्षष, जनावर, वनस्पती, सूर्य, चन्द्र, नदी आदि चित्र कोरेर बनाइएको किताब प्रयोग गरिन्थ्यो । उक्त किताबमा चित्र र त्यसको तलपट्टी उक्त चित्रदर्शनको फल वर्णन गरिएको हुन्थ्यो । हेराउने मान्छेले दुबो उक्त किताबको पाना पल्टाउने र जे चित्र आयो त्यसको फलका आधारमा शुभ अशुभ तथा विभिन्न किसिमको ज्योतिषीय परामर्श दिने गरिन्थ्यो । त्यसै गरी जन्मपत्रिकालाई सुन्दर बनाएर सजाउनका लागि पनि विभिन्न किसिमका चित्रहरुको सजावट गरिन्थ्यो । लेखन सुरु गर्नुअधि किनाराहरु विभिन्न कलाकृत्तिले सजाउने काम गरिन्थ्यो । त्यसलाई स्थानीय भाषामा कुणेलो भन्न गरिन्छ । त्यसै गरी जन्मपत्रिकाभित्र विभिन्न चक्रहरु पनि कोर्ने गरिन्थ्यो । यस्ता चित्रहरुमा स्थानीय रङको प्रयो गरिन्थ्यो । त्यसै गरी वेदीमा चामलको पिठोले रेखी हाली अष्ठदल, सर्वदोभद्र, नवग्रहवेदी आदि पनि बनाउने गरिन्छ । यस्ता वेदीहरु पूजाकार्यका लागि उपयोग गरिन्छन् । समग्रमा हाम्रो, धर्म, संस्कृति, ज्योतिष तथा लोकमान्यतासँग सम्बन्धित चित्रहरुमा यस क्षेत्रको चित्रकला देखिन्छ । अहिले आएर यी चित्रकलाहरु विस्तारै लोप हुने अवस्थामा रहेका छन् । यी चित्रकलाहरुलाई व्यवसायिक रुपमा बनाउने सके हाम्रो चित्रकला बच्नुका साथै आर्थिक रुपमा पनि मद्दत पुग्न सक्ने सम्भावना प्रयाप्त रुपमा रहन्छ । यसले हाम्रो मौलिक पहिचान जोगाउनुका साथै यस क्षेत्रको कलाको संरक्षण पनि हुन सक्छ ।    


  • सम्बन्धित विषय:

  • # चित्रकला


  • प्रतिक्रिया दिनुहोस