कैलाली । शनिबार कैलालीको धनगढीमा 'धनगढी कविता उत्सव' सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित कविता महोत्सव धनगढीमा सम्पन्न भएको हो । सुदूरपश्चिमका विविध भाषाहरुका प्रतिनिधि कविताहरुको विशेष प्रस्तुति, समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कार्यपत्र प्रस्तुति, समग्र कविता विमर्श, नवसर्जकका सृजना प्रस्तुति लगायत विविध कार्यक्रमहरु कविता उत्सवमा सञ्चालन गरिएका थिए । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ द्वय बाबा बस्नेत र डा. कौशिला रिसाल र प्रदेश सभा सदस्य प्रकाश बम विशिष्ट अतिथि रहेका थिए । विशेष प्रस्तुति : पुस्तान्तर कविता सेसन अन्तर्गत नेपाली, डोटेली र थारु भाषाका तीन पुस्ताका बाह्र कविहरुका कविता प्रस्तुति रहेको थियो । समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कवि खेम बतासले कार्यपत्र प्रस्तुत गरेका थिए भने लेखक जगदीश ओझाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कविताको समग्र अवस्था र कार्यदिशाबारे समालोचक विष्णु ज्ञवालीले विमर्श गरेका थिए । सुदूरपश्चिमका प्रतिनिधि कविताबारे सह प्राध्यापक हरिकृष्ण कडायतले समिक्षा गरेका थिए । सुदूरपश्चिम क्षेत्रका साहित्यिक, साँस्कृतिक एवम शैक्षिक संघसंस्थाका प्राज्ञिक प्रतिनिधिहरु, सर्जकहरु लगायत करिव दुई सय व्यक्तिहरुको उपस्थित रहेको थियो । सृनशील मञ्च, सुदूरपश्चिमका सचिव एवम् लेखक डिल्लीराज ओझाले सहजीकरण गर्नुभएको कार्यक्रम मञ्चका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिकको अध्यक्षतामा सञ्चालन भएको थियो । सुदूरपश्चिममा भाषा साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनका लागि निरन्तर गतिविधि गर्ने योजना अनुरुप धनगढी कविता उत्सव आयोजना गरिएको कुरा अध्यक्ष जनक रसिकले बताए । सबै भाषा सबै पहिचान, सबैको प्रज्ञा प्रतिष्ठान मूल नाराका साथ सुदूरपश्चिम लगायत राज्यको कम प्राथमिकतामा परेका क्षेत्रमा बढी महत्त्वका साथ निरन्तर गतिविधि गर्ने योजना प्रज्ञा प्रतिष्ठानले बनाएको कुरा प्राज्ञ डा कौशिला रिसालले बताइन । सुदूरपश्चिमको भाषिक साँस्कृतिक अध्येता समेत रहेका निवर्तमान मूख्यमन्त्री रावलले यहाँको भाषा साहित्य कला सँस्कृतिको इतिहास र वर्तमानबारे आफ्ना धारणा राखेका थिए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्रष्टा सर्जक र प्राज्ञिक व्यक्तिहरुको अपेक्षा र सुझाव अनुरुप प्रदेश सरकार र मन्त्रालयले काम गर्ने बताए ।
.gif)