बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध मंगलबार खोलिने भएको छ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आइतबार पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने जनाइएको छ।
बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धार्चुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाईका लागि बाँध खोलिन लागिएको हो।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो।
विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो।
.gif)