दार्चुला । जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डोकटका नरसिंह विष्टको हत्यामा संलग्न एक जनालाई जन्मकैदको फैसला गरेको छ ।
विष्टको हत्यामा संलग्न भएको पुष्टि गर्दै सोमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए। यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका स्रेस्तेदार ज्ञवालीले बताए।
जन्मकैद फैसला सुनाइएका दीपकलाई प्रहरीले गएको मङ्सिर ११ गते पक्राउ परेको थियो । गएको मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिका–४ डोबको दार्चुला–तिङ्कर सडक खण्डमा नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको दीपकले प्रहरीसमक्ष स्वीकार गरेका थिए । दुवै जनाले जाँड–रक्सी खाएको अवस्थामा भेट हुँदा विवाद भएकोमा दीपकले नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेका खुलेको थियो ।
मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंह विष्ट मङ्सिर ४ गते बेलुकी मृत अवस्थामा भेटिएका थिए । उनको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ मा होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्न मङ्सिर २ गते खलङ्गाबाट घर गएका थिए ।
.gif)