आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

मनमा पोतिएको मेलाको रङ्ग र बमना रानाको कोट कथा


शुक्रबार, माघ २८ २०७८
  • 1.2K
    Shares

  • images
    images
    मनमा पोतिएको मेलाको रङ्ग र बमना रानाको कोट कथा

    “अर्जुनले माछाको आँखा ताके जस्तै सबैको लक्ष्यभेदन गर्ने ठाउँ मेला हो । उद्देश्य मेला हो । प्राप्ति मेला हो । तृप्ति मेला हो ।” 

    माथि उद्धृत बमना रानाको कोट कथाको अंश मेरै रहरको प्रतिनिधित्व गर्ने अंशजस्तो लाग्यो । मेला भन्ने बित्तिकै प्रफुल्ल हुने यो मन बाल्यकालदेखि नै मेलाको आनन्दमा निमग्न हुुनुको भाव ग्रहणमा अभ्यस्त छ । ‘मेला’ शब्दले मेरा मनमा उत्पन्न गराउने भाव भने बिर्कुल एकाङ्की ! जहाँ मेलै म र मेरा रहरबाहेक अरूको बारेमा अनुभूत गर्न कहिलै पाइनँ, सकिँन वा गर्न नै चाहिँन । यदि अरूका रहर बारे सोचेकै भए पनि आफ्नै रहरहरू सबैका साझा हुन् भन्ने अर्थ लगाउँथेँ सायद । मेलाले केबल मनोरञ्जनको अभिष्ट पूर्तिको फुर्ती मेरा तन र मनमा एकाएक आउँथ्यो र मेलाको समाप्तिसँगै शिथिल भएर जान्थ्यो । कुवाको भ्यागुत्वले कुवालाई ब्रह्माण्डीकरण गरेजस्तै मैले पनि आफू अनकूल पारेर मेलाको सीमित रङ्ग, सीमित रस र सीमित परिवेशलाई आफूअनुसार व्याख्या गरिरहेँ । तर जब ‘बमना रानाको कोट’ कथा पढ्ने सौभाग्य आदरणीय प्राज्ञ वासुदेव पाण्डेयबाट प्राप्त गरेँ तब हट्यो, कुवाको दृश्य । तब आए मनमा मेलाका सयौँ रङ्गहरूका बुट्टेदार तस्बिर । कथाकार भोजराज भट्टले “मनका रङ्गहरू । तनका रङ्गहरू । धनका रङ्गहरू सबै भेटिन्छन् मेलामा ।” भने । मैले उनको कथामा सांस्कृतिक संस्कारका स्वाभाविक रङ्गहरू मात्र देखिँन । देखेँ, सामाजिक मनोविज्ञान, दर्शन, आदर्श विचार, र गहनतम चिन्तनका रसिला स्वादमय रङ्गहरू ।

    कथामा प्रस्तुत गरिएको मेलाको न त कहिल्यै प्रत्यक्ष दृश्यावलोेकन गर्न पाइएको छ न त स्थान परिचय नै छ मसँग । यद्यपि कथामा पनि स्थानभन्दा मेलाकै रौनकको प्रसङ्ग सबल रूपमा प्रस्तुुत भएको छ । त्यसैले कथाबाट ज्ञात भएको एक स्थान विशेषको मेलालाई अरू मेलासँग अर्थात आफूले भरेको मेलासँग सामान्यीकरण गरी भावबोधको  मिठासता सहज रूपमा ग्रहण मात्रै गरिँन, मेला अनुभूतिको सेरोफेरोमा गजबको परिभ्रमण गरिरहेँ, कथा पढिरहँदा । मेलामा मैले देखेका तर ख्याल नगरेका विविध पक्षहरू कथामा रसिलो भाषाशैलीका साथ उपस्थित छन् । मेला बारे गरिएको मेरो अपरिपक्व मस्तिष्कको विश्लेषणमा नयाँ आयाम यो परिपक्व लेखनले थपेको छ । मेरो स्मृतिका निजात्मक सङ्कुचित स्पष्ट चित्रलाई कथाले छायामा पारी मेलाको व्यापक आयाम बारे रहेका सुषुप्त मनोभावलाई जाग्रत् बनाएको छ र मेलाको वैयक्तिगत रहरलाई मात्र नभई सामाजिक, सांस्कृतिक महत्त्वलाई बोध गराएको छ । त्यसैले पनि प्रिय लाग्यो ‘बमना रानाको कोट’ कथा ।

    हाम्रो संस्कृतिमा चाडपर्वमा मानिस मात्रै नभई पशुपन्छीसमेत त्यसमा सहभागी हुन पाउने सौभग्य छ । मानिसका मनमा आएका उत्साह, प्रत्यक्ष परोक्ष रूपमा घरपालुवा जनावरमा पनि सञ्चरित हुन्छन् नै । तर त्यति मात्रै नभएर सबै पशुपन्छीलाई पूज्य रूपामा ग्रहण गर्नु, मेला, चाडपर्व, व्रत आदिको बेलामा मात्रै भए पनि विशेष आग्रह राखी विशेष व्यवहार गर्नुले सबै प्राणीबिच सहभाव र सहअस्तित्वको सन्देश सम्प्रेषण गरेको हुन्छ । चाहे त्यो तिहारकै बेला होस्, चाहे माघी, चाहे श्रद्धा कर्ममा वा अन्य मेला पर्वमा गरिने पशुपन्छीको पूजा । यी सबै कर्म मानिसले प्रकृतिको सृष्टिप्रति गरेका कृतज्ञताका दृष्टान्तहरू हुन् । बमना रानाको कोट कथामा पनि यो प्रसङ्ग मार्मिक तरिकाले प्रस्तुत भएको छ । निम्न आय भएका मानिसलाई मिठोमसिनो खानका लागि पर्वकै वहाना चहिन्छ । त्यो पर्वको मिष्ठानले असीमिति खुसी निम्तिन्छ पनि । कथामा राँगागोरुले पनि मेलाकै कारण अरू दिनको तुलनमा घाँसपराल बढी प्राप्त गरेको प्रसङ्ग छ ः 
    “वर्षभरि आजकै दिनलाई भनेर यी गोरुले । यी राँगाले एक–दुई मुठो बढी पराल पाएका थिए । घाँस बढी पाएका थिए । कहिलेकाहीँ दाना पनि ।”

    मेलमा सहभागी व्यक्तिहरूका लक्ष्य तथा उद्देश्यहरू पनि फरक फरक हुुने गर्दछन् । उद्देश्य निर्धारणमा उमेरगत र पेशागत प्रभावहरू पनि ज्यादा पर्दछन् नै । उमेर र पेशाकै कारण मानिसका इच्छा आकाङ्क्षा, स्वभाव, र प्रवृत्तिहरू पनि आआफ्नै तरिकाले व्यवहारमा झल्किन्छन् सायद । मेलाका निजात्मक अनुभूतिले पनि मलाई यो बोध गराउँदछ । सानो उमेरमा हाम्रो मेलाको लक्ष्य सिठ्ठी बजाउनु, बेलुन उडाउनु, विशेषतः गुलियो परिकार खानु आदि आदि थिए । विस्तारै त्यसमा उमेरगत परिपक्वताको  प्रभाव परी नै रह्यो र परी नै रहने छ । यति मात्र नभई मेलाअनुसार पनि मनोभावहरू उब्जिन्छन् । कुनै मेला भक्त र भक्तिका लागि, कुनै मेला जुवाडी र जुवातासका लागि, कुनै मेला व्यापारी र व्यापारका लागि, कुनै मेला प्रेमप्रणय र विवाहका लागि अनकूल हुन्छन् जे होस् मेलामा यी सबैको समिश्रण कहीँ न कहीँ कमबढी मात्रमा पाइन्छ नै । मानिसमा स्वाभाविक रूपमा प्रतिस्पर्धाको भावना हुन्छ नै । मेलाका प्रतिस्पर्धाका विषय किनेबेच र अन्य पनि हुनसक्दछन् । जे होस् उक्त कुराको अनुभूत मेलामा गर्न पाइन्छ, जो कथामा पनि सुललित भाषामा व्यक्त भएको छ । मेलामा देखाओटी तहमा वर्गीयता देखिए पनि मानसिक खुसी र सन्तुष्टिको तहमा भने समानता देखिन्छ अर्थात निम्न वर्गका मानिसहरू कुण्ठित र चिन्तित देखिदैनन्, जुन कुरा कथामा यसरी प्रस्तुत भएको छ ः
    “यो मेलामा सिकन्दरको, अशोकको, अकवरको तयारी देख्न सकिन्छ । थुप्रै द्रोपती । थुप्रै सीता । थुप्रै हेलेनहरू बरमाला लिएर पुगेको देख्न सकिन्छ । सुदामा पनि होलान् तर ती सुदामाहरू इतिहासकालीन सुदामा जस्तै कुण्ठामा छैनन् । आत्मग्लानीमा छैनन् ।”
     
    मेलाको यात्रा कति उत्साहजनक हुन्छ, कति भक्तिपूर्ण हुन्छ, कति आनन्दले सिँगारिएको हुन्छ, कति स्वतन्त्र हुन्छ, कति सभ्य हुन्छ अनि कति रसमय हुन्छ भन्ने कुरा मेलाका यात्रीले मात्रै वास्तविक अनुभूत गर्नसक्लान् यद्यपि पाठ्य कथाले पनि केही हदसम्म त्यो आभास गराउँछ । कथा पढेर मात्रै पनि मेलामा सहभागी भएका मनले भने अवश्य मेला यात्रको परिदृश्य सम्झी सहज रूपमा आनन्द निम्त्याउन सक्छ नै । कथा पढ्दा मेलाइतर समयमा पनि म भने मेलामा हराई नै रहेँ । पहिले मेलामा हराउँदा आमाबुवाको खोजीको विषय बन्थेँ र डराइरहन्थेँ भने यताको हराइमा रमाइ रहेको छु ः
    “यो यात्रा पराधीन मुलुकमा नागरिकको यात्रा होइन । यो यात्रा पराजित सेनाको यात्रा होइन । यो यात्रा अराजक र उश्रृङ्खलहरूको यात्रा पनि होइन ।”

    मेलाको सौन्दर्यलाई प्रेम गर्ने हरेक मन मस्तिष्कमा मेलाको गहिरो छाप परेकै हुन्छ । मेलाले परिवारका सबै सदस्यमा एकै प्रकारको खुसीको आभास मात्रै गराउँदैन मेला खर्चले निम्त्याउने परिणमको पूर्वाभास गराई जिम्मेबारीको बोध पनि गराउँछ । रहरहरू पनि उमेरगत प्रवाहमा प्रवाहित भइरहन्छन् । मेला रौनकका बाछिटाहरूले मेलाका दिन मात्रै होइन अघिपछि पनि निकै प्रभावित पार्छन्, जीवनका भित्ताहरूलाई । त्यसैले त बालदेखि वृद्धका मुख र मस्तिष्कमा अटाउँछ मेलाको सुगन्ध ः
    “बच्चाहरू मेलाकै कुरामा छन् । किशोर–किशोरीहरू मेलाकै सल्लाहमा छन् । युवा–युवतीहरू तारा झार्ने अभियानमा छन् । प्रौढहरू बजेट बनाउन र त्यो वितरणको पिरलोमा छन् । वृद्ध–वृद्धाहरू त्यो अतीत कोट्याउनमा छन् ।”

    कथामा व्यक्तिको नामाकरण सम्बन्धमा रहेको चलनलाई पनि उजागर गरिएको छ । कथाको परिवेश र पात्रमा राना थारूको चलनलाई सङ्केत गरेको भए पनि पहाडी क्षेत्रमा पनि निम्न वर्गमा यो चलन थियो नै । मेरै गाउँका चैते, पुसे, सउने, फगुनी आदि नाम यसै सूत्रका विस्तारित रूप थिए । जे होस् बमना रानाको कोट कथाको आयाम यस विषयसम्म पनि फैलिएको छ ः  
    “आइतबार जम्ने आइतबारी । सोमबार भए सोमलाल । दुखद परिस्थितिमा जन्मेछ भने दुखिराम । सुखद पक्षमा जन्मेछ भने खुशिराम ।”

    सुदूरपश्चिममा लाग्ने अधिकांश मेलामा भारतका विभिन्न ठाउँबाट नै व्यापारी आई लाभ उठाएको पाइन्छ । अर्को मुलुककाले लाभ उठाएकोमा होइन आफूले केही गर्न नसकेको तर स्वाबलम्बनको गीत  मात्र गाएको प्रति वितृष्णाको भाव पैदा हुन्छ मलाई । एउटा मेलाका लागि हामीले परनिर्भर हुनुपरेको घटनाबाटै ज्ञात हुन्छ हाम्रो जीवन कति परनिर्भर छ भन्ने कुरा । कथाकारको ध्यान यस कुरामा पनि गएको देखिन्छ ः
    “नुनदेखि सुनसम्म बेच्ने जम्मै व्यापारी बरेलीबाट आउँछन् । पिलिभीतबाट आउँछन् । लखिमपुरबाट आउँछन् । राना थारुको । डगौरा थारुको पाहाडी मुलका मानिसको एउटा पनि दोकान छैन ।”

    बमना रानाको कोट कथा पढ्दा कथाले मलाई मेला यात्राको पुनर्ताजकीय मात्र गराएन मेलाका विविध आयाम र महत्त्व बारे पढाइरह्यो । कथाकार भोजराज भट्टको काव्यात्मक लेखनीबाट एकछिन तृप्तिको आभास भए तापनि उनका रचनाप्रतिको भोक भने बढेर गएको छ । जीवन याथार्थताको भोगाइमा मेलाको मानसिक प्रभाव बारे लेखिएको उत्कृष्ट कथाले मेरो मनमा पनि आनन्दानुभूति गराएपछि पाठकीय प्रतिक्रिया स्वरूप यो मनोगत अस्पष्ट गन्थन लेखिएछ । आगामी दिनमा पनि हामी यस्तै उत्कृष्ट सिर्जनाहरू पढ्न पाइरहौँ, लेखकप्रति सम्मान एवम् शुभकामना !!

     




    प्रतिक्रिया दिनुहोस