बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

अछाममा फोहोरबाट मोहर, घर घरमा निःशुल्क बायोग्यास वितरण


पश्चिम प्रेस
मंगलबार, साउन ९ २०८०
  • 1.4K
    Shares

  • images
    images
    अछाममा फोहोरबाट मोहर, घर घरमा निःशुल्क बायोग्यास वितरण

    अछाम । अछाममको मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पुगाउने कार्य भइरहेको छ । 

    नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ । बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको स्थानीयले बताए । घरमा ग्यास जडान भएपछि दाउराको दुःख जाने भन्दै स्थानीयले खुसी व्यक्त गरे । 

    इन्जिनियरका अनुसार बजारबाट निक्केको कुहिने फोहोर सङ्कलन गरेर मिश्रण प्रविधिबाट लेदो बनाइन्छ । उक्त लेदोलाई पाइपको माध्यमबाट डाइजेस्टरमा पठाई ग्यास निकाल्ने गरिएको छ । यसरी उत्पादन भएको ग्यास पाइपलाइनबाट घर घरको चुलोमा पठाइने गरेको छ । नगरपालिकाले हेटौँडाबाट बायोग्यास प्लान्ट जोड्ने जनशक्ति ल्याई गएको फागुन महिनाबाट उक्त कामको थालनी गरेको हो । फोहोरको उपयुक्त व्यवस्थापन साथै स्थानीयलाई ऊर्जा सेवा र मल प्राप्ति गर्ने विश्लेषण अनुसार बायोग्यास प्लान्ट निर्माण गरिएको नगर प्रमुख पदमबहादुर बोहराले बताए। 

    कुहिने वस्तुको उचित व्यवस्थापन पनि हुने भयो, स्थानीय नागरिकले ग्यास पनि पाउने भए र ग्यास निकाल्न प्रयोग गरेको फोहोरले मलको पनि काम गर्ने भएकाले खेतीपातीमा प्रयोग गर्न सकिने भनाइ उनको छ । बायोग्यासलाई दीर्घकालीन रूपमा सञ्चालनका लागि आवश्यक फोहोरको सङ्कलन तथा व्यवस्थापनको कामलाई ध्यान दिइने बताइएको छ । मङ्गलसेन नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको १८ लाख २० हजार र जिआइजेट तथा रिप संस्थाको प्राविधिक सहयोगमा बायोग्यास प्लान्ट स्थापना गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिए।

    उक्त कार्यमा नगरको ससर्ततर्फको १० लाख, ऊर्जाको आठ लाख २० हजार रकम खर्च भएको छ । फोहोरको सङ्कलन, ग्यास उत्पादनको अवस्था र प्राविधिक विश्लेषण गरेर उपभोक्ताको सङ्ख्या बढाउने योजना रहेको बताइएको छ ।   

     


  • सम्बन्धित विषय:

  • # बायोग्यास
  • प्रतिक्रिया दिनुहोस