महेन्द्रनगर । कल बाइपास गरेको आरोपमा कञ्चनपुरमा तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका-१८ क्याम्पस रोडस्तिथ पाँचतले घरको एउटा कोठा भाडामा लिएर कल बाइपास गरेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा गुल्जर महमद, प्रवीण खड्का र दीपकसिंह बोहरा रहेका छन्।
महमद भारतीय नागरिक हुन् भने खड्का र बोहरा कञ्चनपुरकै बासिन्दा हुन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई साउन १० गते नियन्त्रणमा लिएको हो।
यो समूहले पाँचतले घर भाडामा लिएर गत चार महीनादेखि कल बाइपास गर्दै आएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ। प्रहरीले कल बाइपास गर्न प्रयोग गरिएका उपकरण समेत बरामद गरेको छ।
कल बाइपासमा विदेशबाट आएको फोन नेपालकै नम्बरबाट आएको देखाउँछ। कल बाइपास गर्नेहरूले नेपाल भित्रिने अन्तर्राष्ट्रिय कललाई गेटवेभन्दा बाहिरबाटै भित्रिने र बाहिरिने बनाइदिन्छन्। यसो गर्दा नेपाल सरकारको राजस्व गुम्ने गरेको छ।
आपराधिक गिरोहले पनि कल बाइपासको फोन प्रयोग गर्ने गरेको छ। आरोपी तीन जनालाई अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
.gif)