मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटपिट, वडाअध्यक्ष देवकोटा घाइते


पश्चिम प्रेस
आइतबार, साउन २८ २०८०
  • 1.1K
    Shares

  • images
    images
    युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटपिट, वडाअध्यक्ष देवकोटा घाइते

    महेन्द्रनगर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा बबन्डर मच्चिएको छ। पार्टी पोलिटब्युरो सदस्य एवं युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि महेन्द्रनगरमा जारी युवा संघ कञ्चनपुरको १०औँ अधिवेशनमा कुटपिट भएको हो।

    उद्घाटन सत्रमा अध्यक्षमण्डल, प्रतिनिधिको विषयमा उत्पन्न विवाद बन्दसत्रसम्म पुग्दा कुटपिटमा परिणत भएको छ। नेतृत्वका लागि दिनेश विष्ट र नवीन चन्द दुई समूह देखिएका थिए। दुवै पक्षको उद्देश्य आ–आफ्नो उम्मेदवार टिमलाई अध्यक्षसहित पदाधिकारी बनाउने होडबाजीका बीच विवाद भएको थियो। विवादका क्रममा एक आपसमा आरोप प्रत्यारोपदेखि कुर्सी तोडफोडसम्म भएको थियो।

    विवाद कुटपिटसम्म पुग्दा भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष एवं एमाले जिल्ला सदस्य रवीन्द्र देवकोटा घाइते भएका छन्। देवकोटा र आयोजक कमिटी सदस्य खगेन्द्र नाथलाई बचाउँदा एमाले जिल्ला सदस्य प्रशान्त भट्टमाथि समेत कुटपिट भएको संगठनका नेताहरूले बताएका छन्। विष्ट र चन्दले दुवैले एक अर्कोलाई कुटपिटको आरोप लगाएका छन्।

    चन्द पक्षका नेता कार्यकर्ताको कुटपिटबाट घाइते देवकोटाको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ। उनीमाथि हेलमेट, मुक्का र हात्ताले प्रहार भएको बताइएको छ।

    घाइते देवकोटाका पक्षधरले एमाले जिल्ला सदस्य कमल रोकाया नेतृत्वको टोलीले कुटपिट गरेको आरोप लगाएका छन्। रोकायाले पार्टीको आन्तरिक कार्यक्रममा एक आपसमा वादविवाद हुने क्रममा दुवै पक्षबीच सामान्य धकेलाधकेल भएको बताए। सो क्रममा आफूसहित प्रविन बोगटी, रोहितजंग कुँवरलगायतमाथि पनि कुटपिट भएको, तर आफूहरूले कुनै स्टन्टबाजी नगरेको उनको भनाइ छ।


    प्रतिक्रिया दिनुहोस