मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

कैलालीको बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज


पश्चिम प्रेस
बुधबार, साउन ३१ २०८०
  • 481
    Shares

  • images
    images
    कैलालीको बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज

    कैलाली । कैलालीको बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बन्न थालेको छ । डुबानका कारण विस्थापितहरू घर फर्कने वातावरण बनेसँगै जनजीवन सहज बन्न थालेको हो । 

    बाढी घटेको र डुबेको घरबाट पानी निस्केको छ । गतसाता आएको बाढीका कारण जिल्लाभरि हजारभन्दा बढी परिवार विस्थापित भएका थिए । विस्थापित हुनेमा सबैभन्दा बढी एक हजार २४ घरपरिवार भजनी नगरपालिकाका थिए । 

    बाढी घट्नुका साथै मौसममा केही सुधार भएपछि धेरैजसो विस्थापितहरू घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । “अब करिब एक सय जतिमात्रै घर फर्कन बाँकी छन्”, उनले भने,“मौसममा सुधार भएकाले उनीहरू घर फर्कनेक्रम जारी रहेको छ । एक दुई दिनभित्र सबै फर्कन्छन् होला ।”

    मोहना, कान्द्रा, काँढा, पथरैया नदीको बाढीले डुबान भएपछि भजनी नगरपालिकाका अत्यधिक परिवार घर छोडेर हुलाकी सडकमा विस्थापित भएका थिए । यसैगरी, केही परिवार विद्यालय र सुरक्षित भवनमा बसेका थिए । 

    बाढी घटेपछि धेरै परिवार आ–आफ्नो घर फर्केको भजनी नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत विष्णुराज न्यौपानेले बताए । उनले भजनीमा अब वडा नम्बर-३ को पकरियापुरका २५/३० परिवारमात्रै घर फर्कन बाँकी रहेको जानकारी दिए । ती सबै परिवारका व्यक्ति हुलाकी राजमार्गमा एकसातादेखि त्रिपालमुनि बसिरहेका छन् । यसैगरी, गर्भवती, सुत्केरी, बालबालिका, अपाङ्गता भएका ज्येष्ठ नागरिक गरेर सेफ हाउसमा बसिरहेका ३९ जना पनि घर फर्कन बाँकी रहेको छ । 

    न्यौपानेका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ का ५९० परिवार विस्थापित भएका थिए । उनीहरू सबै आ–आफ्नो घर फर्किसकेका छन् । अब अस्तिको जस्तो असामान्य अवस्था नरहेको जनाउँदै उनले भने,“बिस्तारै जनजीवन सहज बन्दै गएको छ । धेरै विस्थापित घर फर्किसकेका छन् ।”


  • सम्बन्धित विषय:

  • # बाढी प्रभावित
  • प्रतिक्रिया दिनुहोस