मानवजाति भित्रको कुनै जाति छ भने त्यो हो नारी र पुरुष । यी दुई जाति मानव सभ्यताको विभिन्न कालखण्ड पार गर्दै आएको यो एक्काइसौँ शताब्दीमा आइसकेको छ । आजको एक्काइसौँ शताब्दी विज्ञानको युग हो । विज्ञानले संसारमा कल्पना गरिएको तर असम्भव भन्ने चिजहरूलाई सम्भव तुल्याएको छ । यसरी विज्ञानको विकासमा भौतिकवादी दर्शनको महत्वपूर्ण भूमिका रहेको छ । तर अझै पनि आध्यात्मवादी दर्शनले पारेको छापहरू सजिलै मेटाउन सकेको छैन । ती छापहरू मानव जातिको कलङ्कका रूपमा रहिरहेका छन् । ती छाप, दाग वा धब्बालाई मेटाउन हाम्रो मानसिकतामा परिवर्तन ल्याउनुपर्ने देखिन्छ ।
मानव सभ्यताको विकासले उतार चढाव बेहोर्दै आईरहेको वर्तमान परिप्रेक्षमा आध्यात्मवादी दर्शनलाई धर्म र संस्कारको अभिन्न अंगको रूपमा विकास गरेर आफ्नो साम्राज्य कायम राख्दै सामन्तवादी पूँजीवादीहरू र साम्राज्यवादीहरू आफ्नो निहित स्वार्थ पूरा गरिरहेका छन् । यसैको आडमा पुरुष सर्वसत्तावादीहरूले नारी जातिलाई विभिन्न किसिमबाट अमानवीय व्यवहार गर्दै आइरहेको छ । धर्म र संस्कारको जालोमा परेर आजको एक्काइसौँ शताब्दीका मानवहरू दानवरूपी बनिरहेका छन् । धर्मले कुसंस्कार र कुरीतिको बढावा गर्दै नारी र पुरुषमा विभेदपूर्ण नीति अपनाउँदै आईरहेको छ । यही नीतिका कारण विश्वभरी र नेपालमा पनि महिलाप्रति विभेदको खाडल झन् गहिरो बन्दै गईरहेको छ । नेपाली समाजमा व्याप्त कुप्रथाहरू मध्येको एउटा छाउप्रथा हो । यसलाई महिनावारी, मासिक धर्म र रजश्वला आदिका नामले चिनिन्छ । महिला जाति वा नारी जातिलाई प्रकृति पनि भनिन्छ । प्राकृतिक रूपमा नै नारीजातिलाई केही फरक खालको गुण र क्षमता प्राप्त भएको छ ।
महिनावारी हुनु, बच्चा जन्माउनु, दुध खुवाउनु आदि । यी गुणहरू पुरुष जातिमा सम्भव छैन । त्यसैले फरक खालको गुण र क्षमता भए पनि आफ्नो अस्तित्वको खोजी गर्न नसक्नु नारी जातिको कमजोरी हो । खोजी गरे पनि संघर्ष गर्न नसक्नु अर्को विवशता हो । यसलाई चिर्नु आजको नारी र पुरुष दुवैको कर्तव्य पनि हो ।
नेपालमा बहुसंख्यक हिन्दू धर्म मान्ने मान्छेहरूको बसोबास छ । हिन्दू धर्मका विभिन्न शाखा प्रशाखा भए पनि मुलभूत रूपमा हिन्दू धर्मले महिलामाथि गर्ने विभेदपूर्ण छ । अरू धर्ममा नभएको भन्ने होइन, हिन्दू धर्ममा अधिक मात्रामा देखिन्छ । १०–१२ वर्षको उमेर पुगेपछि ४०–४५ वर्षसम्म महिनावारी वा रजस्वला हुने नारीको प्राकृतिक विशेषता हो । यहि रजस्वला हुने प्रकृयाबाटै मानवको जन्म हुन्छ अथवा यसरी पनि भन्न सकिन्छ कि महिलाहरूको रजस्वला नहुने हो भने मानव सभ्यताको कल्पना समेत गर्न सकिन्न । सजिलो रूपमा बुझ्दा प्रत्येक महिनामा महिनावारी हुने महिला गर्भधारण गरेपछि किन महिनावारी हुँदैनन् ? महिनावारी हुँदा निस्कने रगत गर्भधारण भैसकेपछि किन आउँदैन । यो प्राकृतिक कुरा हो । जुन रगत महिनावारी हुँदा नराम्रो हुन्छ तर त्यही रगतबाट डिम्ब र शुक्रकिटको मेलसँगै एक नयाँ मानवको निर्माण हुन्छ र जन्म हुन्छ । यो विज्ञान हो, यो सत्य हो, प्रकृति हो । यति कुरा थाहा पाउँदा पाउँदै पनि हाम्रो समाजमा नारीहरूलाई गर्ने विभेदपूर्ण व्यवहार रोकिएको छैन । महिनावारी हुँदा नारीमाथि गरिने अमानवीय व्यवहारका कारण आज सयौँ हजारौँ नारीहरूले मृत्युवरण गर्नु परिरहेको यथार्थ हाम्रो समाजमा छ । एकातिर तल्लो जाति र माथिल्लो जाति बनाएर छुवाछुतको व्यवहार गरिन्छ । अर्कोतिर तिनै तल्लो जाति बनाइएकाहरूबाट पनि महिला जातिलाई विभेदपूर्ण व्यवहार हुनु नेपाली समाजको एउटा कलङ्क हो । एक्काइसौँ शताब्दीलाई र विज्ञानलाई नै चुनौति हो । स्वर्ग, नर्क, पाप र पुण्यको गलत व्याख्या गर्दै आफ्नो स्वार्थपूर्तिमा तल्लीन शासकवर्गको र त्यसमा पनि पुरुष वर्गको आडम्बरी सत्ता तबसम्म ढल्दैन जबसम्म उत्पिडित महिला र तमाम न्यायप्रेमी जनताहरू त्यसको विरुद्ध संघर्ष गर्दैनन् । जबसम्म सडेगलेको कुसंस्कार रुढीवादी मान्यता, चाल चलन र व्यवहारमा परिवर्तन आउँदैन तबसम्म मानव मुक्ति र महिला मुक्ति सम्भव छैन । त्यसका लागि आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु पहिलो कर्तव्य हुन आउँछ । छाउ प्रथा देशको केही जनजाति बाहेक सबै जातिमा रहेको पाइन्छ । त्यसको मुख्य कारण के हो जान्नु पर्ने हुन्छ । पूर्वी समाजमा छुइ बार्ने अथवा महिनावारी रजस्वला बार्ने काम गरे पनि छुट्टै घर बनाएर राखिन्न । त्यही घरको एउटा कुनामा राख्ने गरिन्छ । ठाउँ हेरेर ३ दिन ५ दिन ७ दिनसम्म महिनावारी भएको महिलालाई नछुने, दुध दहि खान नदिने, बाहिरको ठूलाठूला काम गर्न लगाउने र नुन खुर्सानी सित निस्तै खान दिने जुन चलन छ, त्यो अमानवीय त हुँदैहो यो मानव जातिकै कलङ्क पनि हो । सुदूरपश्चिमको अछाममा मात्र १० वर्षमा १४ महिलाको मृत्यु छाउगोठमै भएको छ । मृत्यु भएकाहरू निसासिएर, सर्पले टोकेर आगोले पोलेर भएका छन् । अहिले सुदूरपश्चिमका जिल्लाहरूमा छाउपडी प्रथाका रूपमा विकसित भएर बनेको छाउगोठ सरकारी तवरबाटै भत्काउने काम भैरहेको छ । त्यो राम्रो कार्य त हो, तर के छाउगोठ भत्काउँदैमा छाउप्रथाको उन्मुलन हुन्छ त ? के छाउगोठ नभत्काए र भत्काउन नदिए उनीहरूको सेवा सुविधा रोक्ने निर्णयले मात्र यो प्रथा उन्मुलन हुन्छ त ? अहँ अवश्य हुँदैन । छाउगोठ भत्काइयो भने पनि पूर्वी नेपालको जस्तो एउटै घरको कोठामा राख्ने गर्न सक्छन् तर व्यवहार परिवर्तन हुँदैन र यो प्रथा कायम नै रहन्छ । सामाजिक कुसंस्कार र कुसंस्कृतिलाई उन्मुलन गर्न र छाउपडी प्रथालाई उन्मुलन गर्ने नाममा सरकारी संघसंस्था र विभिन्न एनजिओ आइएनजिओहरूबाट तिनै समाजका उपल्लो तहका मानिसहरूले घरघडेरी कमाए होलान् तर छाउपडी प्रथा जस्ताको त्यस्तै छ ।
त्यसैले छाउपडी प्रथा र छाउपडी घर भत्काउनका लागि विज्ञानबाट निर्देशित भौतिकवादी दर्शनबाट प्रेरित शिक्षा र चेतनाबाट छाउपडी प्रथा र छाउपडी गोठको मानसिकता भत्काउनुपर्ने देखिन्छ । अझ समाजमा व्याप्त कुसंस्कार भत्काउन समाजका प्रत्येक महिला र पुरुषको मानसिकतामा सुनामी आँधी तथा महाभुकम्प आउन आवश्यक छ । सही सोच र उद्देश्यका साथ समानतामूलक समाज निर्माण गर्ने हो भने कुसंस्कार कुरीतिले भरिपूर्ण मनस्थितिलाई महाभुकम्प र सुनामी आँधिसरी वेगका साथ धक्का दिँदै छाउपडी प्रथा र छाउगोठ भत्काउन जरुरी छ ।
८८८
.gif)