आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह


बिहीबार , भदौ ७ २०८०
  • 1.7K
    Shares

  • images
    images
    राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह

    १९ औ पुस्तामा  बझाङ दरबारमा विक्रमबहादुर सिंहले राजाका रुपमा शासन सम्हालेका थिए । उनले राणा प्रधानमन्त्री जङ्गबहादुरकी दुई छोरी सहित चारवटा विवाह गरेका थिए । जङ्गबहादुरकी दुवै छाेरीहरु रुद्रकुमारी र मेघकुमारीलाई एउटै यज्ञमा विवाह गरेका थिए उनलेे । चारै महारानीबाट राजा विक्रमबहादुर सिंहका १४ जना सन्तान जन्मेका थिए । जेठी महारानी रुद्रकुमारीदेवीबाट पहिलो सन्तानका रुपमा वि.सं. १९३४  साल भदौ ७ गतेका दिन जयपृथ्वीबहादुर सिंह जन्मे र बझाङी राज्यका उत्तराधिकारी बने ।  

    राजा विक्रमबहादुर सिंहकी जेठी महारानी रुद्रकुमारी दया, स्नेह, करुणा भरिएकी पराेपकारी स्वभावकी र न्यायनिसाफमा समेत निकै निपुण भएको कारणले बझाङी जनतामाझ निकै लाेकप्रिय थिइन् । बझाङ राजदरबारमा उनको अत्यन्तै प्रभावशाली भूमिका थियो। जेठी महारानीकाे राज्यकौशल, न्यायिक निपुणताबाट बढिरहेको लाेकप्रियता सम्बन्धमा केही भारदारहरुले  राजा विक्रमबहादुरलाई नकारात्मक एवं गलत अपवाह जाहेर गरेर राजारानीको सम्बन्मै तिक्तता आउन पुग्यो र जेठी महारानी रुद्रकुमारी आफ्ना ८ वर्षे बालक छाेरा जयपृथ्वीबहादुरलाई लिएर माइतीघर काठमाण्डु गइन् । भनिन्छ,- भारदारहरुकाे चुक्लीका कारण बाआमाकाे सम्बन्धमा खटपट भएपछि  आठ वर्षको उमेरमा जयपृथ्वीबहादुर  आमासितै काठमाडौं जाँदा बझाङी जनताहरु राेएका थिए ।

    त्यो विछाेडकाे विह्वलता र बझाङी जनताकाे अपार अास्था र श्रद्धालाई उनकी आमा जेठी महारानी रुद्रकुमारीकाे जनप्रिय ब्यक्तित्वकाे नमूना मान्न सकिन्छ ।   त्यतिबेला उनले "म केही समय पढाइका लागि मात्रै जादैछु, फेरि फर्केर यहीँ आउछु, तपाईंहरु सबै मिलेर बस्नुहाेला" भनेर सम्झाएका थिए भन्ने जनस्रुति अद्यापि बझाङमा सुनिने गर्दछ । आफ्नी जेठी महारानीले राज्यको उत्तराधिकारी छाेरासहित माइती गएपछि राजा विक्रमबहादुरले भारतको पिथौरागढबाट ठकुरीकी छोरी भित्र्याएका थिए । उनको साे कार्यबाट माइतीमा रहेकी जेठी महारानी  रुद्रकुमारी अत्यन्तै क्षुब्ध भइन्। उनले प्रधानमन्त्री वीरशमशेर राणालाई राजा विक्रमबहादुरकाे सबै वृत्तान्त जाहेर गरिन् । आफ्नी खलककी चेलीमाथि सौता हालेको आक्राेशमा वीर शमशेरले पनि विक्रमबहादुर सिंहलाई बझाङी राजसिंहासनबाट च्यूत गराई जयपृथ्वीबहादुरलाई राज्यारोहण गराएका थिए ।

    काेमल हृदय, उदार व्यवहार, मानवतावादी चिन्तनका  राजा जयपृथ्वीले शिक्षालाई आफ्नाे प्रमुख महत्वकाे कार्य बनाई तदनुरुप कार्य गरेका थिए । त्यहीक्रममा उनले बझाङबाट आठजना विद्यार्थी काठमाडौंमा पढ्न पठाए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठैजना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थामा जागिरे भए। फेरि  उनले त्यहाँका केही नागरिकहरुलाई भारतको अल्मोडा पढ्न पठाए र  काठमाडौंकाे नक्सालस्थित आफ्नै निवासमा सत्यवादी पाठशाला पनि खोले । केही समयपछि उनले काठमाडौंको सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे ।  बझाङमा पहिलोपटक खुलेको त्यो  विद्यालय नै थियो। त्यसअघि पारम्परिक गुरुशिष्य पढाइ नै प्रचलनमा रहेको थियो । जयपृथ्वीले शैक्षिक उन्नतिका लागि विभिन्न जुक्ति लगाए । देशभर राणाहरुकाे हुकुमत चल्ने भएकोले सर्वप्रथम राणाहरुबाटै पवित्र सामाजिक कार्यहरुमा अग्रसरता गराउने ध्येयले जयपृथ्वीबहार सिंह कुटनैतिक चातुर्यतापूर्वक  देवशमशेरलाई स्कुल खोल्नुपर्छ र नेपाली भाषामा शिक्षा दिनुपर्छ भनेर सम्झाउन सफल भए । यसलाई उनको महत्त्वपूर्ण ऐतिहासिक सफलता मान्नुपर्छ । उनले विभिन्न पाठ्यपुस्तक पनि लेखे। त्यसबेला विद्यार्थीहरुलाई उनले लेखेको ‘अक्षरांक शिक्षा’ पढाइन्थ्यो । त्यसपछि उनका अन्य पुस्तक समेत प्रकाशित भए । अक्षरांक शिक्षा, अक्षरमाला, ब्यबहारमाला, भूगोल, शिक्षा दर्पण, श्रेस्ताबोध, पदार्थ तत्व बिबेक, प्राकृत ब्याकरण, शप्तश्लाेकी रामायण, गंगा लहरी लगायत उनका करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् ।  

    जयपृथ्वीले राजा भएपछि पनि पढाइलाई निरन्तरता दिइरहे । उनको पढाइ काठमाडौंको दरबार हाई स्कुलमा भयो । उनले भारतको कलकत्ताबाट म्याट्रिक र भारतकै प्रयागबाट आईए पास गरे (कुनै कुनै विद्वानले पूरा गरेनन् भनेर पनि लेखेका छन्) । जयपृथ्वीको १७ वर्षको उमेरमा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग विवाह भएको थियोे । जयपृथ्वी पढ्न, लेख्न, बोल्न, गाउन, नाच्न, र घोडसवारका सौखिन थिए। भनिन्छ,-उनले आफूले मात्र चढ्न ४० वटा घोडा पालेका थिए। उनी देशविदेश जहाँ पनि पुग्थे त्यहाँ मानवता र शिक्षाका कुरा गर्दथे र कहिलेकाहीं घोडा पनि लिएर फर्कन्थे।जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधार लागू गरि वैज्ञानिक ढङ्गबाट नापीको व्यवस्था पनि गरे । जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो । उनले त्यहा कलकत्ताबाट चिकित्सक ल्याएका थिए । उनले काठमाडौंबाट त्यहा धोबी मगाएर राखेका थिए । जयपृथ्वी २५ वर्षका हुदा  प्रधानमन्त्री चन्द्रशमशेरले उनलाई कलकात्तामा वकील बनाएर पठाए । त्यसपछि तीन वर्ष कलकत्तामै बसेर अङ्ग्रेजी विषयमा विशेष ज्ञान हासिल गरे । तर नेपालमा नेपाली भाषाकै किताब छापेर प्रचार गर्ने उद्देश्यले उनी नेपाल फर्किए । नेपाल फर्किदा उनले पाठ्यक्रम र अन्य पुस्तक समेत छाप्न सजिलो हाेस् भनेर हाते प्रेसपनि सँगै किनेर ल्याएका थिए । त्यसपछि प्रधानमन्त्री चन्द्रशमशेरले जयपृथ्वीलाई गोरखापत्रको सम्पादक नियुक्त गरी सम्पादनसहित गोरखापत्रको सम्पूर्ण आम्दानी पनि सिंहले नै खाने लिखत गरिदिएका थिए।

    जयपृथ्वीले सरकारी भारदारी अड्डामा पनि काम गरे । विसं १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत भ्रमणमा गए । बेलायतमा त्यहाँका राजाबाट उनले कर्नेलको दर्जा  प्राप्त गरेका थिए । अमेरिका र रुसको भ्रमण गर्ने पहिलो नेपाली समेत जयपृथ्वी नै हुन् ।   उनलेे मानवतावा र शिक्षाको विकासका निमित्त अभियान नै सञ्चालन गर्ने उद्देश्यले संस्थागत रुपमै अघि बढ्ने अभियान थालेका थिए । त्यही क्रममा उनी विश्वका धेरै देशहरुमा शान्ति, मानवता र भ्रातृत्वको सन्देश दिदै हिडेका थिए । साेहि अभियानका क्रममा जयपृथ्वीले विश्वभ्रमण गरे ।
    अभियानकै क्रममा नक्कली भिसा लिएर जापान पुग्दा उनी पक्राउ पनि परेकाे पनि देखिन आउँछ ।  उनी जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे । पछि उनकै अभिभावकत्वमा एसियाका विभिन्न देशमा मानवतावादी संघ/संस्थाहरू खुले । उनले मानवतावादी पुस्तकहरू प्रकाशित गरेर विश्व एकता र मानवतावादकाे प्रचारप्रसारमा व्यापकता ल्याए । संयुक्त राष्ट्रसंघ स्थापना हुनुमा समेत  यिनकै प्रेरणादायी प्रभाव रहेको थियो । यद्यपि, उनको यो प्रेरणालाई व्यापक प्रचारप्रसार गर्न सकिएको छैन, जुनकुरा हामी नेपालीको लागि अत्यन्तै दुखद विषय हो ।

    गाेरखापत्रकाे सम्पादक नियुक्त भएपछि उनलेे राष्ट्रियता र जागरणका पक्षमा महत्त्वपूर्ण गतिविधि सञ्चालन गरे । उनको त्यही प्रगतिशील कार्यबाट डराएर राणा प्रधानमन्त्री चन्द्रशमशेरले  रूपमा गोरखापत्रकाे प्रकाशन नै बन्द गराईदिएका थिए । गाेरखापत्र बन्द भएपछि जयपृथ्वी भारत प्रवासमा बस्न थाले । केही समयपश्चात चन्द्रशमशेरकाे डरले जयपृथ्वी भारतबाट पनि भागेर बेलायत पुगे । कसैले चिन्न नसकुन भनेर उनी प्रवासमा रहेका बखत  बर्मेली लुगा लगाउने गर्दथे ।  जयपृथ्वी भागेर प्रवासमा र त्यहाँबाट पनि बेलायत गई बसेकाे खबर चन्द्रशशमेरले थाहा पाउनासाथ जयपृथ्वीलाई पक्रेर ल्याउनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरे । चन्द्रशमशेरकाे उक्त घाेषणाले जयपृथ्वीबहादुरका प्रगतिशील कार्यबाट राणा सरकार कत्ति अत्तालिएकाे भन्ने यथार्थ सहजै अनुमान लगाउन सकिन्छ । उनलाई पक्रने हरेक प्रयास असफल भएपछि बझाङी राजाका हैसियतमा राज्यले उनलाई उपलब्ध गराउदै अाएकाे सेवासुविधा सहित भत्ता समेत बन्द गराएर जयपृथ्वी र उनकी महारानी(चन्द्रशमशेरकी छाेरी)काे सम्बन्ध टुटाई चन्द्र शमशेरले छोरीलाई तत्कालीन अवस्थामा वार्षिक आठ हजार(कम्पनी रुपैयाँ) भत्ता व्यवस्था गरेर ज्वाईंबाट अलग गराएका थिए । त्यसले समेत कुनै पार नलाग्ने देखेर अत्यन्तै क्रुद्ध भएका राणाहरुले जयपृथ्वीको जात च्युत गरी पानी छाड्ने फरमान जारी गरे । यति विघ्न जालझेल सहन गरि जयपृथ्वी अन्ततः आफ्ना  ससुरा श्री ३ चन्द्रकाे देहावसान पछि मात्रै  स्वदेश फर्केका थिए । साँस्कारिक रुपमा जयपृथ्वी सभ्य, शिष्ट, अनुशासित, मर्यादित एवं प्रष्ट स्वभावका थिए । उनी आफ्ना  मातापिताको अत्यन्तै श्रद्धा गर्दथे । जयपृथ्वीले अाफ्नाे जीवनको  ४० वर्षको उमेरमा राजगद्दी छाडेर राणाहरुले बर्खास्त गरेका आफ्ना पितालाई पुन: राज्यारोहण गराउनुलाई उनकाे पितृभक्ति र असल पुत्रकाे कर्तव्यका रुपमा ग्रहण गर्न सकिन्छ । ६ वर्ष सिंहासनमा बसेपछि उनका बुबा स्वर्गीय भए । राजपरम्परा निरणवहन गर्न जयपृथ्वी पुन: राजगद्दीमा त बसे, तर उनलाई राजा भएर बस्न मन लागेन र केही समयपछि उनी आफ्ना भाइ देवीजङ्गबहादुर सिंहलाई राज्यारोहण गराई ४८ वर्षको उमेरमा भारततिर लागे । समग्रमा हिन्दु समाजका लागि जयपृथ्वी महामानव थिए । शिक्षा, मानवता र विश्व वन्धुत्वताकाे विश्वव्यापी जागरण गरिरहँदा, तत्कालीन इष्ट इण्डिया कम्पनी सरकारले राजबन्दी बनाएर राखेको अवस्थामै ६४ वर्षकाे अायुमा  वि.सं. १९९७ साल असोज १ गते भारतको बैंगलाेरमा उनले भौतिक शरीर त्याग गरे । उनको निधनपछि  युरोप, अमेरिका र अन्य महादेशका कतिपय विद्वानहरुले जयपृथ्वीकाे निधनमा एशियाले दाेस्राे गौतम बुद्ध जन्माएकाे तर्क गरेका थिए । राजपरिवारमा जन्म भएतापनि मानवताबादी व्यक्तिका रुपमा नेपालभित्र मात्रै नभई नेपाल बाहिर पनि उनको अाेजिलाे व्यक्तित्वले सगरमाथा छाेएकाे छ । मानवतावाद र वसुधैव कुटुम्बकम्काे विश्वव्यापी जागरण मार्फत सारा दुनियाँलाई र नेपाली भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्यका क्षेत्रमा पुर्‍याएको  योगदानले राजा जयपृथ्वीबहादुर सिंहकाे बिराट व्यक्तित्व र कृतित्व सदैव जीवन्त रहिरहनेछ ।
    (७ भदौ २०७२, महेन्द्रनगर)


  • सम्बन्धित विषय:

  • # जयपृथ्वीबहादुर सिंह


  • प्रतिक्रिया दिनुहोस