मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

कर्मचारी निलम्बनमा परेपछि नगरपालिकाको काम प्रभावित


पश्चिम प्रेस
मंगलबार, भदौ २६ २०८०
  • 936
    Shares

  • images
    images
    कर्मचारी निलम्बनमा परेपछि नगरपालिकाको काम प्रभावित

    महेन्द्रनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाका दश जना कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ ।

     पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीहरुलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दर्ता भएको छ ।

     तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन ।  भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले कर्मचारीहरु निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको बताए । “प्रशासनका प्रमुख कर्मचारीहरुमाथी नै भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका समस्यामा परेको छ ।” उनले भने,“लेखा शाखामा एउटा पनि कर्मचारी थिएन अहिले एक जना लेखापाल कालेनिकाबाट पठाएको छ ।” उनँले पालिकामा जनशक्ति पर्याप्त नहुँदा सामान्य काम बाहेकका काम हुन नसकेको बताए । 

     उनले अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको बताए ।“अहिले नगरपालिकाकै जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौ ।” उनले भने,“कर्मचारी नहुँदा हामीलाई काम गर्न निकै सकस भइरहेको छ ।”


  • सम्बन्धित विषय:

  • # कर्मचारी निलम्बन
  • प्रतिक्रिया दिनुहोस