महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुर गौरा पर्वको विशेष अवसरमा गौरा उत्सव २०८० कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुदूरपश्चिमको भाषा, कला, संस्कृति एवम् पर्यटनका क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजित उक्त कार्यक्रममा यस क्षेत्रको सांस्कृतिक अवसरमा डेउडा खेलाउँदै आइरहेका डेउडिया, ठाडोखेलका गिदारा, भाषा, साहित्य, संस्कृति तथा संस्कृतिका क्षेत्रमा अनुसन्धान एवम् कलम चलाइरहेका लेखक, तत् सम्बन्धी कार्य गर्दै आइरहेका विभिन्न संघसंस्था, होटल तथा पर्यटन व्यवसायी लगायत तिन दर्जन बढी व्यक्तिहरुलाई सम्मान गरेको हो ।
होटल व्यवसायी संघ केवल होटल व्यवसायसँग मात्र सम्बन्धित नभएर यस क्षेत्रको पर्यटन विकासका लागि समेत विगत लामो समयदेखि काम गर्दै आइरहेको र यस्ता मेलापर्वहरुले सांस्कृतिक पर्यटनको विकासमा जोड दिने भएकाले संस्कृतिसम्बन्धी सानै भए पनि यस्तो कार्य गर्नु होटल व्यवसायी संघको जिम्मेवारीभित्र पर्ने कुरा होटल व्यवसायी संघका अध्यक्ष जगदीशचन्द्र भट्टले बताउनुभयो । उहाँले भन्नुभयो भाषा, कला, साहित्य तथा संस्कृति हाम्रो मौलिक पहिचान भएको र यसले पर्यटन तथा होटल व्यवसायको विकासमा समेत योगदान पुगाउने भएकाले सांस्कृतिक विकासको साँझेदारीमा होटल व्यवसायी संघ कञ्चनपुर सदैव तयार रहनेछ ।
होटल व्यवसायी संघका महासचिव रामचन्द्र रेग्मीले थोरै भए पनि यस्तो पवित्र कार्यक्रम गर्न पाएको खुसी व्यक्त गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित बनाएर लग्ने कुरा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो हामी व्यवसायी मात्र नभएर यस समाज र सांस्कृतिक परिवारका सदस्य पनि भएकाले सांस्कृतिको संरक्षण, सम्वर्धन, प्रचारप्रसार र पुस्तान्तरणका लागि सकेको कार्य गर्नु हाम्रो कर्तव्य हो । यही कर्तव्य सम्झेर संस्कृतिका संवाहक विशिष्ट व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ ।
सुदूरपश्चिमको मौलिक बाँजा दमाहा, झ्याली र विगुल वादनबाट सुरु गरिएको यस कार्यक्रममा डेउडा खेल, ढुस्को, धमारी र सुदूरपश्चिमको लोकनृत्य प्रस्तुत गरिएको थियो भने मिडिया सहयोगीका रुपमा पश्चिमप्रेसले कार्यक्रम सम्प्रेषण गरेको थियो । लोकसांस्कृतिक पदर्शनी सहितको उक्त कार्यक्रमको अध्यक्षता होटल व्यवसायी संघका अध्यक्ष जगदीश चन्द्र भट्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।
.gif)