आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

बाजुरा डिपोमा चामल सकिएपछि खाद्यान्न अभाव


पश्चिम प्रेस
बिहीबार , भदौ २८ २०८०
  • 1.1K
    Shares

  • images
    images
    बाजुरा डिपोमा चामल सकिएपछि खाद्यान्न अभाव

    बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको ५ महिना बढी भएको छ । गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि ५ महिनादेखि खाद्य संकट भएको हो । 

    ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो। हिमाली गाउँपालिका १ बिच्छयाँका स्थानीय  दुई दिन लगाएर कुवाडी अस्थायी डिपोमा चामल किन्न पुगे। तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भए।

    आर्थिक वर्षमा ०७९/०८० मा कुवाडी डिपोमा ३५ सय क्वीन्टल चामल रहेको थियो। कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा एक दाना पनि चामल नरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताए। ०८०/०८१ मा कुवाडी डिपोका लागि २५ सय क्वीन्टल कोटा रहेको छ। उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो नभएको प्रमुख ओझाले बताए। कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ मा उपभोक्ताले पाउने गरेका थिए। तर बजारमा त्यही चामल प्रतिकिलो ८० रुपैयाँ हालेर किन्नु परेको छ।

    हिमाली गाउँपालिका १ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना आएको तर चामल नपाएपछि बजारको महँगो चामल लगेर फिर्ता भएको बताउछन्।  ‘दुईदिन लगाएर कवाडी पुग्दा पनि चामल नपाइने गरेको स्थानीयको गूनासो छ ।  साविकको बिच्छँया गाविसमा मात्र ४ हजार जनसंख्या रहेको छ। सबै घरमा खाद्य संकट भएको उनले बताए। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन। हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एकसाता लाग्छ।

    बाजुरामा आफ्नो उत्पादनले तीन महिनासम्म खान पुग्ने जनसंख्या ४० प्रतिशत छ। हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांक छ। अपुग खाद्यान्नको पूर्ति खाद्य संस्थान र बजारबाट हुने गरेको छ। बाजुरामा कुल जमिनको ९ दशमलव २१ प्रतिशत मात्रै खेतीयोग्य रहेको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिएका छन् । 


  • सम्बन्धित विषय:

  • # खाद्यान्न अभाव
  • प्रतिक्रिया दिनुहोस