मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

किसानले फलाए नौ किलोको एउटै काउली


पश्चिम प्रेस
आइतबार, पुस ८ २०८०
  • 549
    Shares

  • images
    images
    किसानले फलाए नौ किलोको एउटै काउली

    गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् । विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन् ।

    उनको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिए । 
        
    “फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो”, खत्रीले भने, “लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।”

    आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् । 
       
    “चार÷पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा नौ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु”, खत्रीले भने ।
        
    अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले बताए । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाए । 
       
    तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताए । रासस


  • सम्बन्धित विषय:

  • # तरकारी खेती
  • # नौ किलोको एउटै काउली
  • प्रतिक्रिया दिनुहोस