सिन्धुली । सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरिएको छ । लेनदेनको विषयलाई लिएर जिल्लाको कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो ।
प्रहरीका अनुसार उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।
यस सम्बन्धमा थप बुझ्दा शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्। त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुगेकी थिइन्। कुटपिट गर्ने स्थानीयहरूको रिसिइबी शारदासँग भने देखिन्न। तर उनका श्रीमान सन्तोष र ती स्थानीयहरूबीचको लेनदेनको विवादका कारण शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताए।
प्रहरीका अनुसार शुक्रबार श्रीमती शारदा आफ्ना श्रीमान सन्तोषको अपहरण भएको भन्दै प्रहरीकहाँ पुगेकी थिइन्। अदालतमा डिभोर्सको प्रक्रिया पुर्याउन गएका श्रीमान सन्तोष त्यहाँबाट हराएपछि शारदा प्रहरीकहाँ पुगेकी थिइन्।
अपहरणमा परेको भन्ने खबरपछि प्रहरीले सन्तोषको खोजी थालेको थियो। तर सन्तोष सकुशल नै भेटिएपछि पहिलो रात घरको खम्बामा श्रीमान—श्रीमतीलाई स्थानीयले बाँधेर राखेका थिए।
शारदालाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएर उनीहरूको घरमा पुर्याएपछि घरमा पुगेका सन्तोषलाई पनि उनीहरूले नियन्त्रणमा लिएका थिए।
नियन्त्रणमा लिएर एक रात उनीहरू दुबै जनालाई घरको खम्बामा बाँधेर राखेको देखिन्छ। भोलिपल्ट भने श्रीमान सन्तोषलाई उनीहरूले छाडेका थिए। जसले गर्दा उनकै (श्रीमान) मिलेमतोमा आफ्नो अपहरण गरी बन्धक बनाएको शारदाले बताएकी छन्।
यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ।
.gif)