आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट मासिक भत्ता


पश्चिम प्रेस
शनिबार, पुस १४ २०८०
  • 515
    Shares

  • images
    images
    कञ्चनपुरमा अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट मासिक भत्ता
    महेन्द्रनगर ।  शुक्लाफाँटा नगरपालिका–८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको हो ।
     
    पाँच वर्षदेखि आठजना अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा रु एक हजारका दरले भत्ताबापतको रकम उपलव्ध गराइँदै आइएको सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले बताए। “आवश्यक कागजपत्र जुटाउन नसक्ने अवस्थाका, सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित रहेका आपाङ्गता भएका व्यक्तिलाई छनौट गरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेका छौँ”, उनले भने, “आयआर्जनसँग जोडिने इच्छा भएका दुईजनालाई बाख्रापालन र कुखुरापालनका लागि अनुदान रकम प्रदान गरेका छौँ ।”
     
    चालु आर्थिक वर्षमा पनि अपाङ्गता भएका व्यक्तिलाई भत्ताका साथै आर्थिक सहयोग निरन्तर उपलब्ध गराइने धामीले बताए। विसं २०७६ देखि अपाङ्गता भएका व्यक्तिलाई निरन्तर रुपमा भत्ता उपलव्ध गराउँदै आइएको उनको भनाइ थियो ।
     
    एकल महिलालाई घरायसी प्रयोजनका लागि निःशुल्क काठ, ५८ जना उपभोक्तलाई घाँस काट्ने मेसिन, दुई विद्यालयलाई फर्निचर निर्माण गरी उपलब्ध गराइएको धामीले जानकारी दिए। उनका अनुसार वन माथिको निर्भरता कम गर्नका लागि ७० जना उपभोक्तालाई जनही ग्यास सिलिन्डर चुल्होमा रु चार हजार पाँच सयका दरले अनुदान, धर्मजनता मावि स्टेसनपुरलाई एक थान ल्यापटप कम्प्युटर, बैजनाथ आधारभूत विद्यालयलाई पाँच थान कम्प्युटर तथा प्रिन्टर, काठको घाटगद्दीमा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । 
     
    मठमन्दिर व्यवस्थापनको कार्यसँगै त्यहाँसम्म पुग्ने बाटो, स्थानीय सडकमा सामुदायिक वनअन्तर्गतरको रकम खर्च गरी ग्राभेल राख्ने काम गरिएको अध्यक्ष धामीले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनको कार्ययोजना, विधान र आर्थिक कार्यविधिअनुसार आम्दानीको २५ प्रतिशत रमक वन विकासमा र ३७ प्रतिशत रकम सामाजिक विकासमा खर्च गर्दै आइएको छ । 


  • सम्बन्धित विषय:

  • # मासिक भत्ता
  • प्रतिक्रिया दिनुहोस