सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा आज ठूली रात अर्थात् पुसे १५ पर्व मनाइँदै


पश्चिम प्रेस
आइतबार, पुस १५ २०८०
  • 962
    Shares

  • images
    images
    सुदूरपश्चिममा आज ठूली रात अर्थात् पुसे १५ पर्व मनाइँदै
    महेन्द्रनगर ।  सुदूरपश्चिममा आज ‘ठुलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइदै छ ।
     
    हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । आजकै दिन गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमुल जस्ता खानेकुराहरु खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किम्बदन्ती छ । 
     
    अन्य पात्रो अनुसार भिन्न भएपनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठुलो रात हुने लोक मान्यता रहेको छ । यो रात सबैभन्दा ठुलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा,कहानी,बातै जस्ता लोक साहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ । यो पर्वमा आफन्तहरु संग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने प्रचलन छ । सुदूरपश्चिमका अछाम,बझाङ र बाजुरामा यस पर्वलाई भुवा पर्वका रुपमा समेत मनाउने गरेका छन ।
     
    सुदूरपश्चिमको लोक मान्यता अनुसार पुस १५ सबै भन्दा ठुलो रात हुनेभएकाले पनि यसलाई ठुलीरात भनेर मनाइने मान्यता छ । सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा पुस १५ देखी उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ । यो रात बुढापाकाबाट अर्ती उपदेशहरु सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ ।
     
    सुदूरपश्चिममा रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा लिईन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ  भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवा पुस्तामा लोक संस्किृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।


  • सम्बन्धित विषय:

  • # पुसे १५
  • प्रतिक्रिया दिनुहोस