मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

बर्खा लाग्यो कि सधैँ त्रास


पश्चिम प्रेस
बिहीबार , जेठ २६ २०७९
  • 661
    Shares

  • images
    images
    बर्खा लाग्यो कि सधैँ त्रास

    महेन्द्रनगर । मौषम तथा पूर्वानुमान महाशाखाले शुक्रबार देखी मनसुन सक्रिय हुने र विगतको भन्दा औषतमा यस वर्ष बढी बर्षा हुने बताएको छ ।  सधै बर्खाको समयमा त्रासमा बस्न बाध्य छन दोधाराचादनी बासी । दोधारा चादनीमा हरेक वर्ष महाकाली र जोगबुडा नदीमा आउने बाढीले डुवानका साथै कटान पटानको समस्या हुने गरेको छ । 
     बाढीको उच्च जोखिममा पर्ने दोधारा चाँदनीमा जोगबुडा नदीको तटीय क्षेत्रमा पर्ने वडा नम्बर ७, ८, ९ र १० हरेक वर्ष बर्खामा बाढी र डुवानको चपेटामा पर्ने गर्दछन् । यसक्षेत्रका स्थानीयले बाढीको दीर्घकालिन समाधानका लागि सो क्षेत्रमा तटबन्धको माग गरेसँगै अहिले प्रदेश सरकार र संघीय सरकारको पहलमा महाकाली नदी र जोगबुडा नदीमा तटबन्धको काम भइरहेको छ । यस्तै दोदा नदीका कारण बाढीको उच्च जोखिममा रहेका लालझाडी गाउँपालिका, बेलौरी र पुनर्वास नगरपालिकामा पनि अहिले सुदूरपश्चिम प्रदेश र संघीय सरकारको पहलमा तटबन्ध निर्माणको काम भइरहेको छ । जसका लागि प्रदेश सरकारले ७ लाख बजेट विनियोजन गरेको थियो । 
     यसैगरी महाकाली नदीमा तटबन्ध निर्माणका लागि जनताको तटबन्ध कार्यालय मार्फत साढे तीन करोडको ठेक्का सम्झौता भएको छ भने जोगबुढा नदीमा १२ करोडको लगानीमा तटबन्ध निर्माणको काम भइरहेको छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले साढे ६ लाख विनियोज गरेको छ ।  नदीमा तटबन्ध बनेपछि बाढीको जोखिम केहि हदसम्म कम हुने स्थानीयको भनाई छ । ‘जोगबुढा नदीको दुःख भनी साध्य छैन यसपटक तटबन्ध बनेको छ केही राहत होला की ।’ आमभोजका स्थानीय धनलाल उपाध्यायले भने(‘पूर्ण रुपमा तटबन्ध बनेको छैन बनेपछि केही राहत होला ।’ उनले जोगबुढा नदीले हरेक वर्ष दुःख दिने गरेको बताए । 
     राष्टूपती चुरे संरक्षण कार्यक्रम अन्तर्गत यसअघि जोगबुडा नदीमा ६ करोड ८९ लाखमा वडा नम्बर १, ३, र ६ मा गरी झण्डै एक हजार ५० मिटर तटबन्ध गरिएको थियो । जसले गर्दा सो क्षेत्र अहिले बाढी तथा डुवानबाट जोगिएको छ । यसवर्ष ७ र ८ मा तटबन्ध निर्माणको काम भइरहेपनि विवाद आएपछि जोडबुडामा भइरहेको तटबन्ध निर्माणको काम अहिले स्थगित गरिएको छ ।  त्यसैगरी महाकाली नदीमा समेत आइइइको काम नभएकाले काम सुरु हुन नसकेको दोधराचाँदनीका नगरप्रमुख किशोर लिम्बुको भनाई छ ।  
     गत कार्तिक पहिलो साता कञ्चनपुर सहित सुदूरपश्चिका अधिकांश जिल्लाहरुमा बाढी तथा पहिरोले धनजनको क्षति गर्यो । बेमौषी वर्षाका कारण आएको बाढीले भित्र्याउने तयारी अवस्थामा रहेको धान बाली मात्रै बगाएन, धेरैका आफन्त र सपनाहरु पनि बगायो । विस्थापितहरु बाढी कम भएसँगै आआफ्ना घर त फर्किए । तर उनीहरुको मनमा बाढीले दिएको पीडा भने अझै ताजै छ । त्यसैले यसको दीर्घकालिन समाधानका लागि कानुनी व्यवधानहरुको निकासा खोज्दै बर्खायाम सुरु हुनुअघि नै तटबन्ध निर्माणका काम सुरु गर्न जरुरी छ । 
    शारदा बाँध डुबानको मुख्य कारण
    दोधारा चादनीका बस्ती भारतको शारदा बाँधको डुबानमा पर्दै आएका छन्।
    सन १९२८ मा चन्द्रशमशेर र ब्रिटिस इन्डियाबीच सम्झौता भएपछि महाकाली दीमा शारदा बाँध निर्माण सुरु गरिएको थियो। त्यो बेला नेपालले ब्रिटिस इन्डियालाई सट्टाभर्ना पाउने सर्तमा नेपाली भूमिमा शारदा ब्यारेज निमार्ण भयो। तर, नेपालले अहिलेसम्म त्यसको सट्टाभर्ना पाएको छैन। सम्झौताअनुसार नेपालले शारदा बाँधबाट हिउँदमा ३ सय ५० क्युसेक र वर्षायाममा १ हजार क्युसेक पानी पाउने व्यवस्था छ । तर, भारतले सोअनुसार पानी नेपाललाई हालसम्म दिएको छैन। यसबारेका जानकार तथा पूर्वजिविस सभापति ऋषिराज लुम्साली सो ब्यारेजबाट नेपालले सिँचाइ सुविधाभन्दा पनि बर्र्सेनि क्षति व्यर्होनु परेको बताउँछन्। ‘शारदा ब्यारेजबाट भारतले सिँचाइका लागि लगेको नहरले लुवाहिट भन्ने स्थानमा ३६ मेगावाट बिजुली उत्पादन गदर्छ’, उनी भन्छन्, ‘वर्षात्को बेला ७ हजार क्युसेक पानी भारतले लग्छ, बाँकी नेपालतर्फ छोड्छ।’ भारतले शारदा नहरमा बढी भएको पानी दोधारा चाँदनीतर्फ बग्ने जोगबुढा नदीमा मिलाउँदा कारण दुवै गाउँका बस्ती डुबान र कटानको चपेटामा पर्दै आएका छन्। भारतले सिमानामै रहेको बनबसा ब्यारेजदेखि उत्तरतर्फ ७० मेगावाटको टनकपुर जलविद्युत् आयोजना निर्माण गरेको छ ।


     त्यसका लागि बनबसाको ब्यारेज (शारदा ब्यारेज) मुख्य बाँध हो । उसले, टनकपुर जलविद्युत् आयोजनामा बढी भएको पानी पनि भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाको बीच भएर बग्ने नदीमा फाल्ने गरेको छ। जस कारण भीमदत्त नगरपालिकाको भुजेला, ओदाली, पिपरिया र शुक्लाफाँटा राष्टिूय निकुञ्ज डुबानमा पर्ने गर्छन्। भारतले लगेको पानी बढी भयो भने लुहाहिटको पावर हाउसदेखि नेपालतर्फ (दोधारा चाँदनी) तर्फ पठाउने गर्छ। भारतको चम्पावत जिल्लाको पहाडबाट निस्क्ने जोगबुडा नदीमा शारदा नहरको पानी मिसियो भने महाकाली नगरपालिकाका वडा नं ८, ९ र १० मा हरेक वर्ष डुबान र कटानमा पर्दै आएका छन । ‘महाकाली नदीमा भारतको मनपरी छ, हिउँदमा सिँचाइको बेला आफूलाई चाहे जति पानी लग्छ, बिजुली पनि निकाल्छ’, लुम्सालीले भने, ‘सम्झौताअनुसार नेपाललाई दिनुपर्ने पानी दिँदैन वर्षाद्मा नेपालमा डुबान हुने गरी शारदा ब्यारेजका ढोका खोलिदिन्छ।’
     महाकाली नगरपालिकाका कुतियाकवर, कञ्जभोज र जमुनाघाडीलगायतका क्षेत्र भारतकै कारण जनधनको क्षति हुने गरेको छ।  शारदा बाँध तल भारतले पक्की बाँध बनाएर नेपालको भुजेलातर्फ छोड्दा नेपालमा नदीको प्रवाह बढेपछि २०७० मा भीमदत्त नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो।  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा सम्झौतामा हस्ताक्षर गरेपछि टनकपुर बाँधले वैधानिकता पाएको थियो। यहाँको पानी प्रयोग गरेर भारतले उत्तर प्रदेशको ठूलो हिस्सामा सिँचाइ गर्दै आएको छ। 
     हिउँदको समयमा भारतीय पक्षले नेपालतर्फ पानी चुहिनसमेत दिँदैन। सोही कारण ब्रह्मदेव क्षेत्रका स्थानीय ह्यान्डपम्पमा समेत पानी नआउने गुनासो गर्छन्। महाकालीमा नहरको छेउबाट खोला बग्छन्। सम्झौताअनुसार नहरमुनि र छेउमा रहेका खोलामा भारतले मर्मत र सफाइ गर्नु पर्नेछ। तर, सम्झौताअनुसार भारतीय पक्षले अहिलेसम्म मर्मत गरेको छैन। नियमित मर्मत नहुँदा खोला निकास थुनिएर सबै पानी थुनिने र त्यसले गाउँ बस्ती डुबानमा पर्नसक्ने जोखिम बढेको छ ।  


    प्रतिक्रिया दिनुहोस