आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर ३(क) मा त्रिपक्षिय भिडन्त,गठबन्धनका उम्मेदवारलाई रावलको चुनौती


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १८ २०७९
  • 840
    Shares

  • images
    images
    कञ्चनपुर ३(क) मा त्रिपक्षिय भिडन्त,गठबन्धनका उम्मेदवारलाई रावलको चुनौती

    महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र ३ (क) को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।  नेपाली कांग्रेसको बलियो उपस्थिति रहेको यो क्षेत्रमा कांग्रेसको उम्मेदवार छैन । अर्को ठुलो पार्टी नेकपा एमालेको उम्मेदवार नहुनुले पनि यो क्षेत्रको प्रतिस्पर्धा रोचक बनेको हो । 
     उसो त नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भएको गठबन्धनबाट यो क्षेत्रमा माओवादीका टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार छन । भने एमाले राप्रपाको गठबन्धनबाट राप्रपाका धर्मराज जोशी उम्मेदवार छन । दुई ठुला दलहरुको समर्थनमा चुनावी मैदानमा उत्रिएका जोशी र भट्टलाई नेकपा एकिकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले चुनौती दिएका छन । 

     यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु भएपनि मुख्य प्रतिस्प्रर्धा भने रावल,भट्ट र जोशी बीच हुने आकलन गरिएको छ । कांग्रेसको समर्थनमा माओवादी केन्द बाट उम्मेदवार बनेका टेकेन्द्र भट्टलाई माओवादीबाटै समर्थन छैन ।  एकातर्फ उनको आफ्नो पार्टीको उपस्थिति यो क्षेत्रमा कमजोर छ अर्को तर्फ उनको पाटीभित्रको असन्तुष्टि पनि छ । यसले उनलाई चुनौती थपिदिएको छ । यो अवस्थामा कांग्रेसको पूर्ण भोट भट्टले पाए भने उनको जीत सहज हुने कतिपयको आकलन छ । तर कांग्रेसका सबै भोट भट्टले पाउनेमा आशंका पनि गरिएको छ । 

     एमालेको समर्थनमा उम्मेदवार बनेका धर्मराज जोशीलाई पनि चुनाव जित्न सहज छैन । एकातर्फ उनको पार्टी यो क्षेत्रमा कमजोर छ भने अर्को तर्फ एमालेका सबै भोट जोशीले पाउनेमा आशंका उनकै दलका नेताहरुको छ ।  यो अवस्थामा जोशीले कांग्रेका मतको ठुलो आशा गरेका छन । जोशीले आफ्नो पुख्यौली घर डडेल्धुरा भएका कारण डडेल्धुराका कांग्रेसजनका सबै भोट पाउने आशा गरेका छन । तर माओवादीका भट्ट पनि डडेल्धुराकै भएका कारण सबै भोट उनले पाउन नसक्ने उनकै दलका नेताहरुको आकलन छ । तर जोशीलाई एमालेको सर्मथन भएपनि उनलाई एमाले भन्दा कांग्रेस भरोसा बढी छ । 

     यी दुई ठुला गठबन्धनका उम्मेदवारलाई चुनौती दिएर मैदानमा उत्रिएका एकिृत समाजवादीका उम्मेदवार प्रकाश रावलको यो क्षेत्रमा राम्रो प्रभाव छ । रावल सुदूरपश्चिम प्रदेश सरकारको वहालवाला आर्थिक मामिला मन्त्री हुन । उनले आफ्नो निर्वाचन क्षेत्रमा करोडौ बजेट हालेका छन । यस कारणले उनी प्रति यहाँका मतदाताको झुकाव हुनु स्वभाविक नै हो । तर चुनाव जीत्नकै लागि भने रावललाई पनि सहज नभएको आकलन गरिएको छ । पहिलो त उनको पार्टी यो क्षेत्रमा कमजोर छ । अर्को दुई ठुला पार्टीको समर्थनमा अर्का दुई उम्मेदवार संग उनले प्रतिस्पर्धा गर्नु छ । यो अवस्थामा कतिपयले एमालेका भोट रावललाई आउने आकलन गरेका छन । 
     यो क्षेत्रमा रोचक त के छ भने दुई ठुला पार्टी एमाले र कांग्रेसका उम्मेदवार छैनन । आफ्ना पार्टीका उम्मेदवार नभएको अवस्थामा उत्कृष्ट उम्मेदवारलाई मत जानसक्ने कतिपयको आकलन छ ।   


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # नेपाली कांग्रेस
  • # चुनावी प्रतिस्पर्धा
  • # प्रकाश रावल
  • # धर्मराज जोशी
  • # माओवादी केन्द्र
  • # नेकपा एकिकृत समाजवादी
  • # एमाले
  • # टेकेन्द्र भट्ट
  • प्रतिक्रिया दिनुहोस