सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

पर्दामा नयाँ अनुहार


पश्चिम प्रेस
सोमबार, पुस २ २०८०
  • 380
    Shares

  • images
    images
    पर्दामा नयाँ अनुहार
    नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको सङख्या पनि बढ्दो पाइएको छ । यसवर्ष मात्र नयाँ अनुहारहरू पहिलोपटक पर्दामा देखिदैछन् । अर्थात् चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । 
     
    डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबाब थियो । उनीहरुको पोस्टर देख्दा मात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे । यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ पुस्ताको आगमन बढिरहेको छ । 
     
    पछिल्लो समय नयाँ पुस्ताको रुपमा प्रदीप खड्का, अनमोल केसी, सलिन मान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिती बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भनिन्छ । उल्लेखित नामहरू निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । उनीहरुको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ । सोही कारण वितरक र प्रदर्शक पनि उल्लेखित नाममा विश्वस्त छन् । यद्यपि त्यो ठाउँसम्म पुग्ने उदेश्य बोकेर सङ्घर्ष गरिरहेका कारण पनि नयाँ अनुहार पर्दामा देखिने क्रम रोकिएको छैन । 
     
    व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् । 
     
    यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशिर्वाद क्षेत्रीले डेब्यु गर्नुभयो । व्यावसायिक रुपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो । आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलोपटक निर्देशक विकाशराज आचार्य यसपटक भने असफल भए। तथापि नयाँ कलाकारको प्रवेशमा कमि आएको छैन । 
     
    गत असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा अभिनेत्री प्रमिला कार्की उदाए । टेलिभिजनकर्मीको रुपमा परिचित अभिनेत्री कार्कीले प्रायको मन जित्नुभयो । व्यावसायिक रुपमा सफल मानिएको चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन् । 
     
    अभिनेत्री कार्कीले कलाकार नै निर्देशक हुँदा आफ्नो यात्रा सुरुआत सहज भएको बताए। “टेलिभिजनमा काम गरेका पनि क्यामेरासँग सहज थिएँ । अभिनयलाई गर्ने तरिका कलाकारकै शैलीमा बुझेपछि मैले पात्रलाई अपनाए । त्यसपछि मलाई निकै सहज भयो”, अभिनेत्री कार्कीले भने। उनका अनुसार पहिलो चलचित्रले चलचित्रकर्मी र दर्शकमाझ परिचित गराए पनि हाल विदेशमा रहेकाले अन्य काम गर्न सकेका छैनन् । यद्यपि छिटै चलचित्रमा देखिने तयारी उनको छ । 
    गत मङ्सिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्नुभयो । अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन्। उनले आफू सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताए। “डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु । अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु”, अभिनेता लिम्बूले भने, “पहिलो दिन नै गीतको छायाङ्कन भएकाले बेहोस थिएँ । सम्पूर्ण टोलीले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोशिस गरेको छु ।” उहाँ झैँ अभिनेत्री गिरी पनि आफूलाई ठुलोपर्दामा देख्दा उत्साहित हुनुहुन्छ । “अभिनयलाई सरल रुपमा लिनु हुन्न भन्ने मैले महशुस गरे । यहाँ मेहनत निकै आवश्यक छ”, अभिनेत्री गिरीले भने,“आफ्नो अभिनयबाट दर्शकको मन जित्न मैले सक्दो कोशिस गरेकी छु । मैले पाइरहेको प्रतिक्रिया निकै सकारात्मक छ ।”
     
    उनले केही साङ्गीतिक श्रव्यदृश्य ९म्युजिक भिडियो० मा समेत काम गरिसक्नु भएको छ । आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै छन्। दीपक श्रेष्ठले निर्देशन गरेको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताए। “मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो, “अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।”
     
    उनले पहिलोपटक राम्रो टिम पाएकाले पात्रलाई न्याय गर्न सकेको बताए। अभिनेता श्रेष्ठले पनि प्रेम कथानक चलचित्रमार्फत पहिलोपटक पर्दामा देखिन पाउँदा उत्साहित रहेको बताए। “पहिलोपटक पर्दामा आफूलाई हेर्न उत्साहित छु । यो समयका लागि मैले सङ्घर्ष गरेको छु । यो अवसरमार्फत मैले अन्य मौका सिर्जना गर्नुछ”, अभिनेता श्रेष्ठले भने,“आफू भन्दा अग्रज कलाकारहरुसँग अभिनय गर्दा सुरूमा केही असहजता भएको थियो । उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरे ।”
     
    उहाँले केही दृश्य अभिनेता शिव श्रेष्ठसँग दिउका छन् । त्यसक्रममा उनलाई असभ्य रुपमा प्रस्तुत हुनु असहज भएको रहेछ । पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरू गरेका छन् । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहनुभएका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताए। “मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरे”, अभिनेता अधिकारीले भने। 
     
    काठमाडौँमै छायाङ्कन भइरहेको चलचित्र ‘११ः५५’ मार्फत सागर खनालले अभिनयको सुरुआत गरेका छन् । पहिलोपटक निर्देशन गरिरहनु भएका केशव पाण्डेसँग राम्रो काम भइरहेको उनले जानकारी दिए। “अभिनय कक्षा र नाटक हुँदै चलचित्रसम्मको यात्रा सहज थिएँन । तर, परिश्रमले फल दिन्छ भन्ने विश्वासले आज मलाई ठुलोपर्दासम्म ल्याएको छ । मैले आफ्नो पात्रलाई जीवन्त बनाउने प्रायस गरेको छु । सम्पूर्ण वर्गका दर्शकलाई मन पर्ने छ भन्ने लागेको छ”, अभिनेता खनालले भने। 
     
    चलचित्र ‘फर्की फर्की’ मार्फत रवि काफ्ले, सम्वृद्धि अर्याल पनि पहिलोपटक पर्दामा देखिदै छन्। आगामी जेठ ११ गते प्रदर्शन गर्ने तय गरिएको चलचित्र छायाङ्कन पोखरामा भइरहेको छ । निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरे झैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर । तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए। 
     
    “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उनीहरुको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ”, निर्देशक झाले भने। पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गर्नुभएका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए। 
     
    निर्देशक नवल नेपालले नयाँ पुस्ता अनुहारको कमि अहिले महसुश गरिरहनु भएको छ । स्थापित अनुहारलाई पारिश्रमिक दिन नसक्ने निर्माता तथा निर्देशकका लागि नयाँ अनुहार सहयोगी हुने उनले बताए । “हिजो पनि विकल्पकै रुपमा आउनु भएका कालाकारहरू अहिले स्टार हुनुहुन्छ । हामीले नयाँ अनुहार नल्याए परिवर्तन देखिदैन । तर, यसमा वितरक र प्रदर्शकको पनि उत्तिकै सहकार्य हुनुपर्छ । नयाँ अनुहार हुँदा उचित बजार नपाइने डर हुनु हँुदैन”, निर्देशक नेपालले भने। 
     
    चलचित्र वितरक करण श्रेष्ठले वितरण गर्नुभएका अधिकाँश चलचित्रमा नयाँ अनुहार छन् । नयाँ चलचित्रको बारेमा सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाहे नहुने होइन । यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने वितरक श्रेष्ठले बताए। “नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो, त्यसैले उनीहरूलाई सघाउनै पर्छ । म नयाँ अनुहार भएका चलचित्रकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु । यसले चलचित्रसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ”, वितरक श्रेष्ठले भने,“चलचित्र भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्वपूर्ण भएता पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ ।”
     
    यसवर्ष उहाँले ‘बगान’, ‘दुई कदम’ वितरण गरिसक्नु भएको छ भने ‘पर्खी बसें तिमीलाई’ वितरण गर्दै हुनुहुन्छ । उल्लेखित चलचित्रमार्फत पाँच नयाँ अनुहारले चलचित्रनगरीमा प्रवेश पाएका छन् ।


    प्रतिक्रिया दिनुहोस